© २०२३
नेपालगन्ज, ०३ मङ्सिर ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि उल्लेखनीय रूपमा बढेका छन् । विशेष गरी जङ्गल सफारी, पदयात्रा र जङ्गल–नाइट स्टे जस्ता साहसिक पर्यटनमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल उल्लेख्य छ ।
निकुञ्जले वन्यजन्तु संरक्षणसहित पर्यटनलाई प्राथमिकतामा राख्दै घाँसे मैदान, कृत्रिम तालदेखि वनपथ र मचान सम्मका पूर्वाधार बिस्तार गरेको छ । हाल निकुञ्जभित्र करिब एक दर्जन मचान, २०० किलोमिटरभन्दा बढी वन–पथ, २५ सोलारजडित ताल, ४५० हेक्टर घाँसे मैदान र चार वटा ठुला जलाशय तयार गरिएका छन् ।
नाइट–स्टेमाः पर्यटकलाई ‘फुल–फेसिलिटी’ दिन तैयार निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार नाइट स्टे गर्न चाहने पर्यटकका लागि सुरक्षा, मार्गदर्शनदेखि बस्ने संरचना र अवलोकनका पूर्वाधार सबै तयार छन् ।
‘जिप सफारीका लागि वन–पथहरू पर्याप्त छन्, मचानहरू सुरक्षित छन्, पर्यटकले वन्यजन्तु प्रत्यक्ष अवलोकन गर्न सहज वातावरण बनाइएको छ,’ कँडेलले बताए ।
अघिल्ला वर्षहरूमा पर्यटक आगमन न्यून भए पनि यो आर्थिक वर्षको सुरुवातदेखि नै उत्साहजनक वृद्धि देखिएको छ ।
हालसम्म २४४ नेपाली र ६ जना विदेशी गरी २५० जना पर्यटक निकुञ्जभित्र प्रवेश गरिसकेका छन् । निकुञ्ज स्थापना सन् २०१० ७२०६७ असार २८७ मा बाघ संरक्षण र जैविक मार्ग संरक्षणका उद्देश्यले ५५० वर्ग किलोमिटर क्षेत्रमा गरिएको थियो। पाटे बाघको पछिल्लो सूचनामा २१ भन्दा बढी सङ्ख्या रहेकाले पनि यहाँको जङ्गल सफारी अत्यन्त रोचक मानिन्छ ।
‘नाइट स्टे’ मा विदेशीको चासो देखेर स्थानीय व्यवसायी उत्साहित भएका छन् । पूर्वाधार विस्तारसँगै निजी क्षेत्र पनि सक्रिय हुँदै गएको छ । बाँके, होटल तथा होमस्टे व्यवसायीहरूले आफ्ना पाहुनालाई नियमित सफारी गराउँदै आएका छन् ।
नाटा बाँके च्याप्टरका निवर्तमान अध्यक्ष श्रीराम सिग्देल भन्छन्, —‘नेपालगन्ज र कोहलपुर नजिकै भएको बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई सहज सफारी दिन्छ । अब यसको महत्व अझै व्यापक रूपमा प्रचार–प्रसार गर्नुपर्छ ।’
नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया पनि ‘बाँके राष्ट्रिय निकुञ्जको हस्पिटालिटी उत्कृष्ट बन्दै गएको बताउँछन् । पहिलो पटक सफारी अनुभव गरेका नेपालगन्जका व्यवसायी नन्दलाल अग्रवाल निकुञ्जभित्र मचान, पोखरी, घाँसे मैदान देख्दा दङ्ग परेको अनुभव सुनाउँछन् ।
गाभर भ्याली र मिनी–गाभर सामुदायिक होमस्टेले सफारी जिप र नाइट–स्टे प्याकेज सञ्चालनमा ल्याइसकेका छन् । मिनी–गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरी भन्छन् — ‘चार घण्टा र आठ घण्टाका सफारी प्याकेजसँगै जङ्गल–नाइट स्टेका छुट्टै प्याकेज छ ।
अमेरिकी पर्यटकलाई करेली मचानमा नाइट स्टे गराएको छु—विदेशी पाहुनालाई नाइट स्टे निकै मन पर्छ ।’ विहान बेलुकाको समयमा पाटे बाघ, चौका, निल गाई, रतुवा लगायतका धेरै थरीका जनावर सहजै देख्न सकिनेभएकाले विदेशी पर्यटकहरू नाइट स्टे नै रुचाउने गरेको उनले बताए ।
उनका अनुसार मिनी–गाभरमा एकै पटक १०० पाहुना बस्न सक्ने क्षमता छ । नेपालगन्ज, कोहलपुर, सुर्खेत, दाङ, काठमाडौँदेखि भारतका पाहुना पनि यहाँ आउने क्रम बढ्दो छ । बैजनाथका गैससकर्मी धर्मलाल रोकाय भन्छन् ‘निकुञ्जले पूर्वाधार बनाइदियो, अब सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्छ ।’
निकुञ्जसँग जोडिएका कोहलपुर, राप्ती सोनारी, बैजनाथका स्थानीय अगुवाले पनि निकुञ्ज–केन्द्रित पर्यटन अभियान चलाउनुपर्ने सुझाव दिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज अब जङ्गल सफारीको मात्र गन्तव्य नभई, सुरक्षित नाइट–स्टे सहितको पूर्ण साहसिक पर्यटन आकर्षण बनेको छ ।
निकुञ्जले सुरक्षा, अवलोकन पूर्वाधार, रात्रीबसोवास संरचना र मार्गदर्शन सबै उपलब्ध गराएपछि विदेशी तथा स्वदेशी दुवै पर्यटक यहाँ टिकेर घुम्न, बुझ्न र अनुभूति लिन उत्साहित देखिन थालेका छन् ।