© २०२३
काठमान्डौ, २ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धी विवाद लम्बिँदै गए पनि आफूहरू न झुक्ने, न झुक्किने दाबी गरेका छन् ।
आगामी पुस १६ भित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने विषयमा पार्टी भित्र जारी बहसबारे मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
महामन्त्री थापाले कांग्रेसभित्रको बहस केवल अधिवेशनको मिति मात्र नभई पार्टी सुधारको दिशासम्बन्धी भएको बताए । उनले भने, “नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ ।”
थापाले पार्टीका नेता–कार्यकर्तालाई धैर्य राख्न आग्रह गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ ऊर्जा र सुधारसहित जाने पनि स्पष्ट पारे ।
उनले भने, “पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ । हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेससँग । सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ । हामी न झुक्छौँ, न झुक्किन्छौँ ।”