© २०२३
काठमान्डौ, २ मंसिर ।
नापी कार्यालय वीरगञ्जका एक सर्भेक्षकसहित दुई कर्मचारी एक लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरूलाई सोमबार नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगरका कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय रहेका छन् । आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–३, आदर्शनगरस्थित नापी कार्यालयमै छापामारी उनीहरूलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छुट जग्गा दर्ता प्रक्रियामा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागी लिइसकेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।