© २०२३
काठमान्डौ, २ मंसिर ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने बताएका छन् ।
मंगलबार बिहान विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा युवानेताहरूसँगको भेट–वार्ताका क्रममा उनले पुस महिनाभित्र नै महाधिवेशन गर्नुपर्ने धारणा स्पष्ट रूपमा व्यक्त गरे ।
‘निर्वाचनभन्दा अघि, मंसिरभित्र वा अधिकतम पुसभित्र नियमित महाधिवेशन हुनुपर्छ भन्ने धारणा डा. कोइरालाले प्रष्ट राख्नुभयो,’ भेटमा सहभागी विद्यार्थी नेता भुवन भट्टले भने ।
पुसभित्र महाधिवेशन सम्पन्न हुन नसके केन्द्रीय कार्यसमिति बैठकमार्फत विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने कोइरालाको सुझाव थियो ।
‘मंसिर नभए पुस अन्तिमसम्म महाधिवेशन हुनैपर्छ । हुन नसके के गर्ने ? केन्द्रीय कार्यसमितिले निर्णय गर्छ । त्यो बहुमतले होइन, सबै सदस्यहरूको एकमतमा आधारित हुन्छ,’ कोइरालाले भने, ‘त्यसअनुसार विशेष महाधिवेशनतिर जानुपर्छ ।’
केन्द्रीय कार्यसमितिको निर्णयमार्फत विशेष महाधिवेशन गरे पार्टीभित्र एकता मजबुत हुने र सम्भावित फुटबाट पनि जोगिन सकिने कोइरालाको तर्क रहेको विद्यार्थी नेता भट्टले बताए ।