© 2026
काठमान्डौ, २ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिको सहकारीसम्बन्धी प्रतिवेदन पुनर्विचार गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार वाग्लेले पार्टी सभापति रवि लामिछानेसँग नख्खु कारागारमा भेटवार्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार प्रतिशोधको राजनीतिमा लागेको तथ्य बुझेर अघि बढ्नुपर्ने उल्लेख गरे । वाग्लेले संसदीय छानबिन समितिको प्रतिवेदनको ४४९ नम्बर पाना फेरि पढ्न र त्यसअनुसार निर्णय गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘रवि लामिछानेलाई नख्खुमै राखेको ४र५ महिना भयो । भैरहवामा त्यस्तो तरिकाले राखियो, त्यो भनेको संसदीय छानबिन रिपोर्टको आधारमा हो,’ वाग्लेले भने, ‘त्यस्तो रिपोर्ट तयार भएको केही घन्टामै क्याबिनेटमा लगेर निर्णय गराइएको थियो । त्यो प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढ्न आग्रह गरेका छौं ।’
वाग्लेले वर्तमान सरकारले क्याबिनेटबाटै उक्त रिपोर्ट पुनर्विचार गरिदिनुपर्ने अपेक्षा व्यक्त गर्दै भने, ‘सहकारी छानबिन प्रतिवेदनलाई पुनरावलोकन गरियोस् । आवश्यक भए अनुसन्धानका कानुनी राय लिएर अघि बढियोस् । अदालतमा हामी हस्तक्षेप गर्दैनौं ।’
मंगलबार दिउँसो सवा ११ बजेदेखि पौने २ बजेसम्म उनले सभापति लामिछानेसँग पार्टी जीवन, राष्ट्रिय जीवन र व्यक्तिगत स्वास्थ्यसम्बन्धी विषयमा छलफल गरेका थिए ।
त्यसैबीच, विघटित प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले पनि सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए ।