© २०२३
काठमान्डौ, २ मंसिर ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ ।
प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्न सक्ने आकलन गर्दै उपत्यकाभर सुरक्षा सतर्कता उच्चस्तरमा पुर्याइएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनै जिल्ला प्रहरी परिसरलाई सुरक्षा कडाइ गर्न निर्देशन दिएको छ । सोहीअनुसार उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई पक्राउ गरिएपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने घोषणा गरेका थिए । त्यसपछि सुरक्षा व्यवस्थामा झनै कडाइ गरिएको प्रहरीको भनाइ छ ।
प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने तयारी तीव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
हाल प्रसाईंलाई परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले जनाएको छ ।