Butwal Today

कर्मचारीलाई सबैभन्दा धेरै आम्दानी हुने निकायमा सञ्चय कोष र उड्डयन प्राधिकरण

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २ मंसिर ।

नेपालमा कर्मचारीलाई सर्वाधिक वार्षिक औसत पारिश्रमिक दिने संस्थाको सूचीमा कर्मचारी सञ्चय कोष र नेपाल नागरिक उड्डयन प्राधिकरण शीर्ष स्थानमा परेका छन् । राज्यले लगानी गरेको नियामक निकाय, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको सेवा–सुविधामा एकरूपता कायम गर्ने सन्दर्भमा तयार पारिएको सुझाव कार्यदलको प्रतिवेदनले यो विवरण सार्वजनिक गरेको हो ।

प्रतिवेदनअनुसार वार्षभरि कर्मचारीले प्राप्त गर्ने तलब, भत्ता तथा अन्य सुविधासहितको कुल खर्चको आधारमा कर्मचारी सञ्चय कोष पहिलो स्थानमा छ, जहाँ एक कर्मचारीको वार्षिक औसत आम्दानी २२ लाख २२ हजार रुपैयाँ रहेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले वार्षिक औसत २० लाख ६२ हजार रुपैयाँ प्राप्त गर्छन् ।

तेस्रो स्थानमा रहेको नेपाल राष्ट्र बैंकका कर्मचारीको वार्षिक औसत आम्दानी १८ लाख ३८ हजार रुपैयाँ छ । त्यसपछि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कर्मचारीले वार्षिक १७ लाख २ हजार रुपैयाँ कमाउने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार प्रतिकर्मचारी वार्षिक औसत १५ लाख भन्दा बढी कमाइ हुने निकायरसंस्थान १२ वटा रहेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीमा १६ लाख ४५ हजार, राष्ट्रिय बीमा कम्पनीमा १६ लाख ४३ हजार रुपैयाँ आम्दानी हुने देखिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा १५ लाख ७८ हजार, धितोपत्र बोर्डमा १५ लाख ७६ हजार रुपैयाँ वार्षिक आम्दानी हुने देखिन्छ । एचआईडीसीएलमा १५ लाख ७२ हजार र नागरिक लगानी कोषमा १५ लाख ४० हजार वार्षिक आम्दानी रहेको छ ।

कार्यदलका अनुसार विभिन्न संस्थाले प्रदान गर्ने कोष, बीमा, घर तथा सवारी साधन खरिदमा दिइने ब्याज–अनुदान, सेवा निवृत्ति सुविधा लगायतका थप लाभहरू यस गणनामा समेटिएका छैनन् । यस्ता सुविधा समावेश गरिएमा कर्मचारीका वार्षिक खर्च रकममा वृद्धि हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक, कतिपय निकायले पटके निर्णयमार्फत सुविधा प्रदान गरे पनि ती विवरण सार्वजनिक नगर्ने प्रवृत्ति अझै कायम रहेको कार्यदलले निष्कर्ष निकालेको छ । कुल ४६ संस्थामाथिको अध्ययनमा ३८ निकाय मात्र नाफामा रहेको प्रतिवेदनले जनाएको छ ।