© २०२३
काठमान्डौ, २ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग मंगलबार भेटवार्ता गरेकी छन् ।
भेटमा कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहका नेताहरू सहभागी थिए । कांग्रेस नेता गुरूराज घिमिरेका अनुसार, ‘प्रधानमन्त्रीले चुनावी वातावरण सिर्जना गर्न चाहनुभएको छ । त्यसै क्रममा आवश्यक ठानेका व्यक्तिहरू, पार्टीहरू र नेताहरूसँग भेटवार्ता गरिरहनुभएको छ । त्यसै क्रममा हामीलाई पनि बोलाउनुभयो, हामी गयौं ।’
घिमिरेले बताएअनुसार, भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको बारेमा आफ्नो दृष्टिकोण राखेकी छिन् । उहाँले पछिल्लो अवस्थाबारे विचार व्यक्त गर्नुभयो । देशको सम्हाल र लोकतन्त्रको मूलभूत मर्मअनुसार अघि बढाउने, तोकिएको समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो,’ उनले भने ।
जवाफमा कांग्रेसका नेताहरूले निर्वाचनलाई पार्टीले स्वागत गर्ने र २१ फागुनको निर्वाचनमा सहभागी हुने आफ्नो धारणा प्रस्तुत गरेका थिए । ‘प्रधानमन्त्रीले चुनावी वातावरण निर्माणका लागि आग्रह गर्नुभयो,’ घिमिरेले बताए, ‘हाम्रो पार्टीले पनि निर्वाचनलाई स्वागत गर्दै सहर्ष सहभागी हुने प्रतिबद्धता जनायो । मूल कुरा, फागुन २१ मा निर्वाचन हुने कुरामा उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।’