© २०२३
काठमान्डौ, २ मंसिर ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी प्रहरीले गरेको छ ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई मध्यराति पक्राउ गरिएको थियो । सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति दिएको आरोपमा मुद्दा दर्ता गर्ने तयारीसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले आवश्यक कागजी प्रक्रिया (डकुमेन्टेशन) सुरु गरेको छ ।
प्रसाईंले दिएका अभिव्यक्तिले सार्वजनिक शान्ति भंग हुने स्पष्ट लक्षण देखिएकाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए
‘अभिव्यक्ति स्वतन्त्रताको नाममा दिनु भएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा असर परेको देखिन्छ,’ एसपी भट्टराईले भने, ‘त्यसबमोजिम म्याद लिएर अनुसन्धान अघि बढाइन्छ ।’
प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गर्दै तयारी तिव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
हाल प्रसाईंलाई परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ। उनको पक्राउसँगै उपत्यकाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
प्रसाईंका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्न सक्ने आकलन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनै जिल्ला प्रहरी परिसरलाई सुरक्षा कडाइ गर्न निर्देशन दिएको छ । निर्देशनअनुसार उपत्यकाका सडक तथा संवेदनशील स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।
प्रसाईं पक्राउपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने चेतावनी दिएका थिए, जसपछि सुरक्षा सतर्कता झनै बढाइएको हो ।