© २०२३
भैरहवा, २ मङ्सिर ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले चुनाव गराउने मनसाय नै यो सरकारको नदेखिएको दाबी गरेका छन् । उनले चुनाव नहुने कुरामा चुनावको तयारी गर, तयारीमा जाऊ भनेर जनतालाई हामीले किन भ्रममा पार्ने भन्दै प्रश्न समेत गरेका छन् ।
मंगलबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकारीले फागुन २१ गते निर्वाचन नहुने भएकाले सहभागिताको प्रश्न नै नहुने बताए। ‘यस्तो वातावरणमा कसरी निर्वाचन हुन्छ ?
उहाँले भन्नुभयो–‘निर्वाचन नामको नाटक त उहिल्यै ज्ञानेन्द्र शाहले कमल थापाहरूलाई लगाएर गरेको जस्तो खालको हो भने भन्न सकिँदैन, ’नत्र निर्वाचन नै हुँदैन ।’ अभियुक्त, अपराधीहरू जेलबाट भागेर बाहिर रहेको र गोलीगठ्ठा, प्रहरीका पोसाक समेत लुटिएको अवस्थामा निर्वाचनको वातावरण बन्न नसक्ने उनको भनाइ छ ।
प्रधानमन्त्री स्वयंले दलका नेताहरूलाई भेट्न मन नलागेको बताएको उनले बताए । दलहरूका नेतासँग संवाद गर्दिन भन्ने प्रधानमन्त्रीका कुराले चुनाव गराउने वातावरण छ भन्दै उनले प्रश्न गरे।
नेपालको संविधानले अहिलेको प्रधानमन्त्रीलाई नचिन्ने अधिकारीले बताइ। ‘नेपालको संविधानले सर्वोच्च अदालतका प्रधानन्याधिशलाई मानव अधिकार आयोगबाहेक अन्य स्थानमा नियुक्त गर्न नपाइने प्रावधान छ, त्यसैले यो सरकार असंवैधानिक छ, ’उनले भने।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई बचाउन अन्तिमसम्म प्रयत्न गरेको उनले बताए । ‘उनले राजीनामा दिने बेला पनि संवैधानिक बाटोबाट मात्र निकाय निकाल्न सकिन्छ भनेर राष्ट्रपतिलाई भनेका थिए, ’अधिकारीले बताए ।
उनले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रको खेलमैदान बन्न नदिनका लागि पनि संविधानको संशोधन गरी नव पुस्तालाई सामेल गरेर सर्वपक्षीय विश्वासिलो सरकार बनाएर तोकिएकै मितिमा पनि निर्वाचन गर्न सकिने बताए ।
संसद्को पुनर्स्थापना गरी लिगमा ल्याएर सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने नव पुस्ताको मागलाई अत्यन्तै विश्वासिलो आयोग बनाएर पूरा गर्न सकिने बताए । नेता अधिकारीले नेकपा (एमाले) को ११ औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गरे।
उनले सबैको आंकाक्षा र इच्छाहरू सम्बोधन गर्ने र उपयुक्त वातावरणमा सही ढङ्गले सबैलाई ‘सरप्राईज’ दिने गरी महाधिवेशन सम्पन्न हुने दाबी गरे ।
‘अरू दलले एमालेभित्रको चासो राखेर पार्टीभित्र विग्रह हुन्छ भनेर कामना गर्नुभएको छ भने यो पूरा हुँदैन, ’उनले भने । संविधान बचाउन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न गर्नुभएको नेता अधिकारीको भनाइ छ ।