© २०२३
हरेक वर्ष जाडो याममा हुने वायु प्रदूषण यो बर्षपनि दोहोरिएको छ ।
खास गरी काठमाण्डौं र पछिल्लो समय तराईमा बायु प्रदूषणले चिन्ता उत्पन्न गर्दै आएको छ । धान काटेर खेतमा राखेको पराल खेतमै जलाउँदा बायु प्रदूषण झनै बढेको छ । पालिकाहरूले पराल नजलाउन आग्रह गरे पनि किसानले सुनुवाइ गरेका छैनन् ।
त्यसो त नेपालको सङ्घीय राजधानी काठमाडौँ हरेक वर्ष विश्वकै प्रदूषित सहरमा सूचिकृत हुँदै आएको छ । विश्वभरको प्रदूषण मापन गर्ने संस्था आईक्यूएआरका अनुसार काठमाण्डौको प्रदूषण सरदर १ सय ७२ एक्यूआई मापन हुँदै आएको छ ।
यो सूचकाङ्क एक सयदेखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । काठमाडौँ उपत्यकाले यो फेरी पनि उही पुरानै नियति भोग्न बाध्य बनेको छ । काठमाण्डौं उपत्यकाको बायु प्रदूषण पछिल्लो दुई सातायता निरन्तर बढ्दै गएको अनुसन्धानले देखिएको छ ।
प्रदूषण बढेकै कारण राजधानीका सडकमा हिँड्ने बटुवाहरू आंँखा पिरो भएको, सास फेर्न गाह्रो हुने गरेको जस्ता समस्याबाट ग्रसित हुन थालेका छन् । चिकित्सकहरूले समेत बायु प्रदूषणको कारण ब्रोङकाईटिस, दम, छातीमा संक्रमण लगायतका रोग लाग्ने भएकोले सचेत हुन आग्रह गरेका छन् ।
काठमाण्डौंमात्रै होइन तराईका सहरमा पनि प्रदूषणको समस्या बढिरेहको छ । बुटवल, भैरहवा लगायतका सहरमा समेत अहिले प्रदूषणको समस्या छ । खासगरि बुटवल नारायणगढ सडक निर्माणको काम र बुटवल पश्चिम गोरुसिंगे सडकको कामले धेरै प्रदूषण बढाएको छ ।
काठमाण्डौंमा वर्षौँ पुराना सवारीसाधनका कारण समेत प्रदूषण बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार नेपालमा वार्षिक १२ हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ ।
स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो तर स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदन अनुसार काठमाडौँ सहित देशको मुख्य सहरको प्रदूषण मानव स्वास्थ्यले थेग्न नसक्ने गरी बढिरहेको छ ।
जाडो बढ्दै गर्दा वायु प्रदूषण दिउँसोका तुलनामा बिहान बढी देखिन थालेको छ । स्वस्थ जीवनको कामना गर्दै बिहानी दौड/हिँडाइका लागि निक्लने, शिक्षालय जाने तथा दूध÷तरकारीलगायत उत्पादन बेच्न निस्कनेहरू यस्तो अवस्थाबाट बढी प्रभावित भइरहेका छन् ।
जनस्वास्थ्यका हिसाबले अत्यन्त हानिकार वायु प्रदूषण यसरी बढ्नु र अझ त्यो पनि बिहानको समयमा धेरै देखिनु चिन्ताको विषय बनेको छ । वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक ठानिने पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोसम्म सिधै पुग्न सक्छ ।
जसले दम, मुटु रोग आदि निम्त्याउन सक्ने सम्भावना हुन्छ भने यसले श्वास/प्रश्वाससम्बन्धी समस्या पनि सिर्जना गर्न सक्छ । त्यसैले वायु प्रदूषणको यस्तो बढोत्तरी कुनै पनि हालतमा सह्य हुन सक्दैन ।
तर पनि सर्वसाधारण नेपालीसँग यसको सामना गर्नुबाहेक अन्य विकल्प सीमित रहेको तथ्य भने बिर्सनु हुँदैन । सरकारले बायु प्रदूषण नियन्त्रणमा अव ढिलाइ गर्ने हो भने मानव स्वास्थ्य जोखिममा पर्ने निश्चित छ ।
अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले विषाक्त वायुका कारण नेपालीको सरदर आयु ३.४ वर्षले घटेको देखिएको उल्लेख गरेका छन् । त्यसै गरी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका आधारमा नेपालको सम्पूर्ण जनसङ्ख्या विषाक्त हावामा सास फेर्न बाध्य छ ।
यसले देखाउँछ कि हाम्रा लागि स्वच्छ प्राण वायुको प्राप्ति अब निकै टाढाको विषय बनिसकेको छ । त्यसैले पनि यस्तो गम्भीर परिस्थितिबारे सोच्नुपर्ने अवस्था आइसकेको छ । अबको दिनमा वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले आवश्यक कदम चाल्नै पर्छ, यसमा दुई मत हुनै सक्दैन ।
चिकित्सकहरूले अल्पविकसित मुलुकहरूमा वायु प्रदूषण ‘मन्द विष’ का रूपमा फैलँदै गएको चेतावनी दिने गरेकोले बायु प्रदूषणबाट कसरी बच्ने भन्ने चिन्ता गर्नु आवश्यक भैसकेको छ । नेपालमा पनि बायु प्रदूषण मन्द विष बन्दै गएको छ ।
अबको दिनमा बायु प्रदूषणको चिन्ता काठमाण्डौं, बुटवल, भैरहवा, नेपालगन्ज र विराटनगर जस्ता सहरले गर्दै आएकोमा यसको जोखिमले अरू सहरलाई पनि प्रभावित नगरोस् भन्नेतर्फ सजगता आवश्यक छ ।