© २०२३
काठमान्डौ, २ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेता डा। शेखर कोइरालासँग भेटवार्ता गर्ने भएका छन् ।
यो भेटवार्ता नेता कोइरालाको केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक गरेपछि तय भएको हो ।
नेता कोइराला विशेष महाधिवेशन गरिए पार्टीमा विभाजन हुने सम्भावना देखेर सतर्क रहेका छन् । तर मंगलबार आफ्ना नजिकका केही युवा नेताहरूसँगको छलफलमा उनले पुसभित्र नियमित महाधिवेशन सम्पन्न गर्न नसके केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जाने धारणा राखेका थिए ।
‘मंसिरको सट्टा पुस अन्तसम्म महाधिवेशन हुनुपर्छ। हुन नसके के गर्नेरु सेन्ट्रल कमिटीले निर्णय गर्ने, बहुमतमा होइन, सबै सदस्यको एकमतमा निर्णय गर्ने, त्यसपछि विशेष महाधिवेशनमा जाने,’ कोइरालाले युवा नेताहरूसँग भनेका थिए ।
नियमित महाधिवेशनका लागि संस्थापन पक्ष सहमत नभएपछि महामन्त्रीहरूले विशेष महाधिवेशनको विकल्पलाई अन्तिम रुपमा अघि सार्ने घोषणा गरेका छन्। यसै क्रममा उनीहरूले आफ्नो एजेन्डामा रहेका विषयमा सबै पक्षसँग संवाद सुरु गरेका छन् ।
महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठकमा २७ मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव गरिसकेका छन् । मंगलबारको भेटवार्तामा यही विषयमा छलफल हुने बताइएको छ । भेटवार्ताको समय र स्थान भने महामन्त्री र कोइराला पक्षले सार्वजनिक गरेको छैन ।