© २०२३
नेपालगन्ज, २ कात्तिक ।
लाज, सङ्कोच र सामाजिक भयका कारण यौन तथा प्रजनन स्वास्थ्यबारे खुला बहस हुन नसक्दा यसको नकारात्मक प्रभाव परिवारदेखि समाजसम्म देखिन थालेको छ ।
त्यसमाथि अपाङ्गता भएका व्यक्तिको यौन–प्रजनन स्वास्थ्य कस्तो अवस्थाबाट गुज्रिरहेको होला—अनुमान गर्न सजिलो छ । यिनै चुनौतीलाई दृष्टिगत गर्दै परिवार नियोजन सङ्घ बाँकेले अपाङ्गता भएका व्यक्तिका यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि सरोकारवाला निकायसँग निरन्तर संवाद र बहस गर्दै आएको छ ।
यसै उद्देश्यअनुरूप नेपालगन्जमा मंगलवार ‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सञ्चार कर्मी, अपाङ्गता अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूले आत्मविश्वासका साथ आफ्ना धारणा राखे ।
कार्यक्रममा बोल्दै परिवार नियोजन सङ्घ बाँकेकी शाखा प्रबन्धक रश्मि श्रेष्ठले सामाजिक पूर्वाग्रह अझै गहिरिएको बताइन् । “अपाङ्गता भएकाहरूलाई यौनिकता हुँदैन, उनीहरूको प्रजनन अधिकार अनावश्यक हो भन्ने सोच अझै बलियो छ,”—उनले भनिन् ।
उनले थपिन्, “त्यसैले बहस आवश्यक थियो, वातावरण आवश्यक थियो, अनि आवाजलाई उचित ठाउँ आवश्यक थियो । यही कारण सरोकारवालालाई एकै ठाउँमा ल्याएर बुझाउने र समुदायमा सचेतना बढाउने प्रयास गरिएको हो ।”
राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्ज कार्यालयकी प्रमुख द्वारिका अधिकारीका अनुसार यौन–प्रजननबारे सोध्दा देखिने असहजता हटाउन सके मात्र अपाङ्गता भएका व्यक्तिले आफ्नो अधिकार पूर्ण रूपमा उपभोग गर्न सक्छन् ।
उनले भनिन्, “यौन–प्रजनन स्वास्थ्य सेवा अपाङ्गता भएका व्यक्तिहरूका लागि केवल पहुँचको विषय होइन, यो सम्मान र पहिचानसँग गाँसिएको मौलिक अधिकार हो ।”
त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा अधिकृत आशा शाहीले समाजमा अझै पनि यौन तथा प्रजनन अधिकारका विषयमा स्पष्ट बुझाइ नभएको बताइन् । “प्रत्येक व्यक्तिले आफ्नो शरीर, यौन जीवन र प्रजननबारे सुरक्षित, सूचित र स्वतन्त्र निर्णय गर्ने अधिकारका बारेमा व्यापक चेतना जगाउन जरुरी छ,”—उनले जोड दिइन् ।
कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले सामाजिक धारणा नै सबैभन्दा ठुलो अवरोध भएको उल्लेख गरे । अधिकारकर्मी जीवन गिरीले गलत बुझाइ, भेदभाव र यौनिक क्षमताबारेको मिथकले गर्दा अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार “कागजी” मात्र बन्न पुगेको तर्क गरे ।
परिवार नियोजन सङ्घ बाँकेकी शाखा प्रबन्धक श्रेष्ठका अनुसार सङ्घले सञ्चालित ‘भेस्टिलिटो’ परियोजनाले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी उनीहरूको आवश्यकताअनुसार सेवा प्रदान, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि, पहुँचमैत्री संरचना निर्माण तथा सरोकारवालाबिच निरन्तर संवादजस्ता पहल गर्दै आएको छ ।
यस्तै, सङ्घका सभापति बदरुदुज्जा खाँले कार्यक्रमले अपाङ्गतामैत्री यौन–प्रजनन स्वास्थ्य सेवा व्यवहारमा उतार्ने आधार मजबुत बन्दै गएको बताउँदै निरन्तर सहकार्य र संवादलाई सबै निकायको साझा जिम्मेवारीका रूपमा व्याख्या गरे ।