Butwal Today

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

२ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २ मंसिर ।

सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्ने निर्णय जिल्ला अदालत काठमाडौंले सुनाएको छ । अदालतले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने, ‘अब हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।’

प्रसाईंले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गरेर राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने योजना बनाएको बताउँदै आएका थिए । पछिल्लो समय उनले दूतावासहरूमा बम प्रहार हुन सक्ने र दोष आफूमा थुपारिदिन सक्ने अभिव्यक्ति दिएका थिए, जुन सुरक्षा संयन्त्रले नोटिसमा लिएको थियो ।

आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा पनि उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने विषय उठेको थियो । बैठकले हिंसा भड्काउने र जनता आतंकित पार्ने गतिविधि गर्नेलाई कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो ।