© २०२३
काठमाडौँ ।
सिद्धार्थ बैंक नेपाल प्रियिमर लिग (एनपीएल)मा विराटनगर किंग्सले शानदार जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको हो। विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १८.५ ओभरमा १६७ रनमै समेटिएको हो।
‘पावर प्ले’मा शानदार सुरुवात गरेको पोखराले सातौँ र आठौँ ओभरमा लगातार तीन विकेट गुमाएपछि दबाबमा आएको थियो। पोखराले पावर प्लेमा एक विकेटको क्षतिमा ७७ रन बनाएको थियो। तर सातौँ ओभरको अन्तिम बलमा शुभन रन्जानेले ओपनर एडम रोसिङटनलाई ३९ बलमा एलबीडब्लु धरापमा पारेपछि पोखरा दबाबमा आएको थियो।
त्यसपछि पोखराले आठौँ ओभरको दोस्रो बलमा जेम्स निसम र चौथो बलमा तिर्थराज दासलाई शुन्य रनमा नै गुमाएको थियो। त्यसपछि लय गुमाएको पोखराले पुनरागमन गर्न सकेन।
कप्तान कुशल भुर्तेलले ३१ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाउँदा मर्चेन्ड डे लाङगेको बलमा विकेटकिपरको हातबाट आउट हुन पुगे। अभिषेक तिवारी ११ र किरण ठगुन्ना आठ रनमा क्याच आउट भए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी, मर्चेन्ट र शुभम रन्जानेले दुई–दुई विकेट लिए। बसिर अह्मद र सूर्य तामाङले एक–एक विकेट झारे।
यसअघि ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनाएको थियो। एनपीएल यो सर्वाधिक योगफल हो। यसअघि पहिलो संस्करणमा विराटनगरले लुम्बिनी लायन्सले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा एक सय ९३ रन बनाएको थियो।
दोस्रो विकेटका लागि मार्टिन गप्टिल र लोकेश बमले एक सय ३२ रनको साझेदारी गर्दै विराटनगरलाई विशाल योगफलतर्फ उन्मुख गराएका थिए।
लोकेश बम ७२ रनमा क्याच आउट हुन पुगे। उनले ४८ बलमा एक चौका सात छक्काको सहयोगमा ७२ रन बनाउँदा कुशल भुर्तेलको बलमा वैकल्पिक फिल्डर विपिन खत्रीको हातबाट क्याच आउट भए।
त्यस्तै, ३५ बलमा तीन चौका र पाँच छक्का सहयोगमा ६१ रन बनाएका गप्टिल १३.५ ओभरमा सागर ढकालको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। त्यसअघि दोस्रो ओभरको दोस्रो बलमा म्याट टेलरले ओपनर जर्ज मुन्सेलाई १० रनमा किरण ठगुन्नाको हातबाट क्याच आउट गराए।
यसैगरी, १३ बलमा एक चौका र एक छक्का हानेका बसिर अह्मद २३ रन बनाउँदा पेभेलियन फर्के। शुभम रन्जने ३८ रनमा रनआउट हुन पुगे। उनले १६ बलमा तीन चौका र दुई छक्का हाने। नारायण जोशी ११ रनमा अविजित रहे।
पोखराका लागि म्याट टेलरले दुई, कुशल भुर्तेल, आकाश चन्द र सागर ढकालले एक–एक विकेट लिए। आजको खेलमा विराटनगरका लोकेश बम प्लेयर अफ द म्याच भए।
यसअघि भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। कर्णाली दिएको १६७ रनको लक्ष्य चितवनले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गरेको थियो।
एनपीएलको चौथो खेलमा बुधबार काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन्। यो खेल अपराह्न ४ बजे हुनेछ।