© २०२३
काठमान्डौ, २ मंसिर ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीय बासिन्दाले फेरि फोहोर विसर्जनमा अवरोध गर्ने घोषणा गरेका छन् । सहरी विकास मन्त्री कुलमान घिसिङले माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिले सम्म कुनै ठोस कार्य नभएको भन्दै स्थानीयले बुधवारदेखि पूर्ण अवरोध लगाउने चेतावनी दिएका हुन् । उनीहरूले यसपटकको आन्दोलन निरन्तर जारी रहने पनि बताएका छन् ।
गत कात्तिक १६ गते मन्त्री घिसिङको नेतृत्वमा भएको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग छलफल गरेर १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसपछि मात्रै फोहोर फाल्न गरिएको अवरोध हटाइएको थियो । तर मंगलबारसम्म १६ दिन बितिसक्दा पनि माग पूरा नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घननाथ बजगाईँले मन्त्री घिसिङको प्रतिबद्धता केवल आश्वासन मात्र भएको आरोप लगाए । उनले भने, “फोहोर र मान्छे एकै ठाउँमा बस्न सक्दैन । दीर्घकालीन समाधानका लागि फोहोरमैला प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनु आवश्यक छ । साथै फोहोर विसर्जनमा अवरोधको मुद्दा फिर्ता गरिनु पर्छ ।”
स्थानीय अगुवा विश्वास ढुंगानाले पनि मन्त्री घिसिङले स्थानीयलाई झुक्याएको आरोप लगाए । उनले बताए, “फोहोरको थुप्रोमाथि १२–१३ वटा पोल गाडेर गन्ध र प्रदूषणको समस्या समाधान हुने छैन । १५ दिनभित्र समाधान सुरु हुन्छ भनेर झुक्याइयो ।” ढुंगानाले अब भोलिदेखि फोहोरका गाडीहरूलाई ल्याण्डफिल साइटमा प्रवेश नदिने तयारी भएको जानकारी दिए ।
यसैबिच, काठमाडौँ महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले भने, “स्थानीयको माग पूरा गर्न निरन्तर काम भइरहेको छ । जग्गा अधिग्रहण तुरुन्त सम्भव छैन, यो लामो प्रक्रिया हो । पहिले प्रभावित क्षेत्र छुट्याइन्छ, त्यसपछि मात्र अधिग्रहण प्रक्रिया अघि बढ्छ ।” उनले स्थानीयको मुद्दा, महानगरपालिकाको क्षेत्राधिकार बाहिर पर्ने भएको र अन्य सेवाहरू ९स्वास्थ्य बीमा, शिक्षा, पूर्वाधार विकास० नियमित रूपमा सञ्चालन भइरहेको पनि स्पष्ट पारेकी छिन् ।
काठमाडौँ महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जान्छ । अन्य उपत्यका पालिकाबाट पनि करिब ७ सय टन फोहोर थपिन्छ । राईका अनुसार, फोहोर वर्गीकरणका कारण केही कमी भए पनि नदी सफाइ र अन्य निर्माणजन्य फोहोरले कुल मात्रा घट्न पाएको छैन् ।