Butwal Today

प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नचाहेको एमाले नेता अधिकारीको आरोप

१ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १ मंसिर ।

एमाले नेता खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्की निर्वाचन गराउन इच्छुक नरहेको आरोप लगाएका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै अधिकारीले सरकारले निर्वाचनका लागि आवश्यक पूर्वाधार तयार नगरेको दाबी गरे ।

उनले भने, “पूर्वाधार बनाएकै छैन । राजनीतिक दलसँग भेट्न पनि मन नलाग्ने प्रधानमन्त्रीले चुनाव गराउन खोजेको हो भन्ने तपाईंलाई लाग्छ र ? त्यसैले अहिले निर्वाचन गराउने आधार नै देखिँदैन । आम जनतालाई पनि चुनाव हुन्छ भन्ने विश्वास छैन ।”

अधिकारीले प्रहरीबाट लुटिएका हतियार र सामग्रीले समेत निर्वाचन सुरक्षामा चुनौती थपिएको उल्लेख गरे । शान्ति–सुरक्षाको प्रत्याभूति दिनु सरकारको पहिलो दायित्व भएको बताउँदै उनले भने, “‘हतियारहरु लुटिएका छन् । प्रहरीको पोशाक र लजिस्टिक सामानहरु पनि लुटिएका छन् । र कुनैपनि मतदान केन्द्रमा एसएलआर समेत प्रयोग गरेर प्रहरीकै पोशाकमा गोलाबारुद हुने सम्भावना छदैछ । त्यसलाई शान्ति, सुरक्षा, अमनचयन, भयरहित वातावरण बनाउनुपर्ने सरकारको पहिलो कर्तव्य हो ।

शान्ति–सुरक्षाको अवस्था कमजोर रहेको जिकिर गर्दै अधिकारीले संविधान लिक बाहिर गएको आरोप लगाए र त्यसलाई मार्गमा ल्याउन संसद पुनर्स्थापना आवश्यक रहेको बताए ।

साथै सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्ने युवा पुस्ताको मागलाई सम्बोधन गर्न पनि सरकारलाई अनुरोध गरे ।