© २०२३
ढाका ।
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको भन्दै स्थानीय अदालतले दोषी ठहर गरेको छ ।
गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दमन गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका निकायहरूलाई निर्देशन दिएको ठहरसमेत अदालतले गरेको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) मा हसिनाविरुद्ध दर्ता गरिएको मुद्दाको फैसला सुनाइँदैछ । न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा बसेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद तथा मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य छन् ।
तीन सदस्यीय इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको समेत इजलासले ठहर गरेको छ ।
इजलासमा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाउने क्रम जारी छ । उनको सजाय भने अझै निर्धारण भएको छैन । फैसलाको अन्त्यमा न्यायाधीशले सजाय निर्धारणसम्बन्धी विवरण सुनाउने अपेक्षा गरिएको छ ।