© २०२३
काठमाडौं, १ मंसिर ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।
उनकाे राजीनामा आज बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको छ । बैठकले अध्यक्षको जिम्मेवारी अब महासचिव दीपक धामीलाई दिने निर्णय गरेको छ ।
‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’
भदौ २३ गतेको जेनजी आन्दोलनपछि कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए । तर, एमालेले ‘घर फर्क’ अभियान सुरु गरी रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरूलाई पुनः समाहित गराएको दिन कात्तिक २४ गते कडरिया पनि कार्यालय फर्किएका थिए ।
त्यसै दिन कडरियाले वक्तव्य जारी गर्दै जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका सबै नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन अपिल गरेका थिए । कडरियालाई केही पदाधिकारीले जुलुस सहित केन्द्रीय कार्यालयमा लगेका थिए र उनले त्यहीँबाट सम्बोधन पनि गरेका थिए ।
सो लगत्तै महासचिव दीपक धामीले परित्याग गरिसकेको अध्यक्ष पदमा नफर्कन चेतावनी दिँदै वक्तव्य जारी गरेका थिए । यसले विवाद सतहमा आएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए ।
अन्ततः आज बसेको केन्द्रीय समिति बैठकले कडरियालाई अध्यक्ष पदबाट बिदा गराउँदै सो जिम्मेवारी महासचिव धामीलाई सुम्पिएको छ ।