© २०२३
काठमाडौं, १ मंसिर ।
सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंकले बढेको छ । सो वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा, ७६ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम पनि सामान्य रुपमा बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोड भएको छ । विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा बढीले बढेका छन् । दुई समूह निर्जीवन बीमा ०.०९ र अन्य ०.४९ प्रतिशतले घटेका छन् ।
बैंकिङ ०.१३% , विकास बैंक १.५०% , फाइनान्स ०.५६% , होटल तथा पर्यटन १.०८% , हाइड्रोपावर ०.८८% , लगानी ०.५३% , जीवन बीमा ०.६४% , उत्पादन तथा प्रशोधन ०.५३% , माइक्रोफाइनान्स ०.३४% , व्यापार ०.०९% ले बढेका छन् ।
चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हालै सूचीकृत भएका बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको मूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको ८.८९%, जोशी हाइड्रोपावरको ७.८४%, माबिलुङ इनर्जीको ७.३७% र कर्पोरेट डेभलपमेन्ट बैंकको ७.२४% मूल्य बढेको छ ।
आज पनि भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै, १० प्रतिशतले, घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको ३.२१% र स्वाभिमान लघुवित्तको २.४०% मूल्य घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, राधि विद्युत् तथा युनियन हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।