© २०२३
काठमान्डौ, १ मंसिर ।
अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो २ बजे बस्ने सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकमा पार्टी एकताबारे नेपाली कम्युनिस्ट पार्टीलगायतसँग भइरहेको संवाद, निर्वाचन आयोगमा दल दर्ता तथा अन्य समसामयिक विषयहरूमा विस्तृत छलफल हुनेछ । उनले भने, “बैठकको एजेन्डा पार्टी एकता, दल दर्ता र समसामयिक राजनीतिक विषयहरू हुन् । यसैबारे निर्णय गर्न बैठक बोलाइएको हो ।”
जसपाले शनिबार नेकपासँग पार्टी एकताबारे प्रारम्भिक छलफल गरेको थियो । जसपा नेपाल विभाजनपछि अशोक राइको अध्यक्षतामा नयाँ जसपा गठन भएकाले त्यसविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन अवस्थामा छ ।
यसैबीच, सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन गरी उपाध्यक्ष दीपक साहले दर्ता गराएको जनस्वराज दल सर्वोच्च अदालतले खारेज गरेपछि जसपा थप राजनीतिक चुनौतीमा परेको छ ।
आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ता प्रक्रिया मंसिर ५ गतेसम्म खुला राखिएको निर्वाचन आयोगले जनाएको छ । सर्वोच्चको आदेश पर्खिने कि नयाँ दल दर्ताका लागि आयोगमा आवेदन दिने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने बताइएको छ ।