© २०२३
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस ।
आजका विद्यार्थी भोलिको नयाँ नेपाल निर्माणका आधार हुन । विद्यार्थीहरू परिवर्तनका संवाहक हुन् ।
विगतमा विद्यार्थीहरूले गरेको असल कर्मले शिक्षा क्षेत्र मात्र होइन, समग्र व्यवस्था परिवर्तनमै महत्त्वपूर्ण योगदान पुगेको कुरा बिर्सन सकिदैन् । अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाई रहँदा विद्यार्थीहरूले मुलुकको परिवर्तनका लागि खेलेको भूमिका कहिल्यै बिर्सन सकिँदैन ।
गत भदौ २३ गतेको जेनजी आन्दोलन विद्यार्थीहरूकै नेतृत्वमा भएको थियो । तर, २४ गतेको आन्दोलनलाई ध्वंसात्मक बनाइयो । जेनजी विद्यार्थीको भावनाको दुरुपयोग गरी धमिलो पानीमा माछा मार्ने तत्त्वले फाइदा लियो ।
निश्चित रूपमा विद्यार्थीहरूले परिवर्तन खोजेका छन् । भ्रष्टाचारको अन्त्य र सुशासनको माग उनीहरूको प्राथमिकता हो । जेनजी आन्दोलनको माग पनि सुरुवातीमा त्यही थियो तर आन्दोलनलाई गलत दिशामा लैजाने प्रयास भयो ।
अबको दिनमा विद्यार्थीलाई असल अभ्यास, नैतिकवान् र अनुशासित बनाउनु जरुरी छ । विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ ।
विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठुला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरू भएका छन् । विद्यार्थीहरूको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रूपमा मनाउने गरिन्छ ।
भदौ २३ को जेनजी आन्दोलन विद्यार्थी आन्दोलन नै थियो । तसर्थ जेनजी आन्दोलनको सन्दर्भमा विद्यार्थीहरूको भूमिका अझै महत्त्वपूर्ण रहेको कुरा कहिल्यै बिर्सन सकिदैन् । नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना गर्न होस् वा २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना गर्ने दौरानमै किन नहोस्, विद्यार्थीको भूमिका महत्त्वपूर्ण थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीले खेलेको भूमिका कहिल्यै कम आँक्न सकिदैन् । किनभने जेनजी आन्दोलनको त्यही मर्म र भावना हो भन्दा अत्युक्ति हुँदैन । विगतमा विद्यार्थीहरूले गरेको आन्दोलनलाई अझै माथि उचाईमा पु¥याउनु जरुरी छ ।
तर, अहिले पनि विद्यार्थीहरूमाथि शोषण भइरहेको छ । चाहे शुल्कका नाममा होस् चाहे त्यो सरकारी विद्यालय नै किन नहोस् । विद्यार्थीले चाहेको कलेज पढ्न नपाउने अवस्था छ । संविधानले शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ तर धेरै विद्यार्थीको आर्थिक पहुँच नहुँदा विद्यार्थीहरू राम्रो शिक्षाबाट वञ्चित भएका छन् ।
इतिहासमा उल्लेख भए अनुसार सन. १९३५ तिर नाजीहरूले चेक रिपब्लिकका विश्वविद्यालयहरूमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरूले केही विद्यार्थीहरूको हत्या मात्र गरेनन्, विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरूमा पनि पठाएका थिए ।
त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको थियो ।
त्यसपछिमात्रै विश्वमा विद्यार्थीहरूले आफूहरूमाथि परेको दमन र शोषणविरुद्ध आवाज उठाउन थालेका हुन् । नेपालमा भने राणा शासनकालमा स्कुल खोल्न प्रतिबन्ध जस्तै गरिएको अवस्थामा विद्यार्थीहरू त्यति बेलादेखि जुर्मराउन थालेका हुन ।
नेपालमा स्कुल खुलेपनि अत्यन्त थोरैमात्र विद्यार्थीले पठनपाठनको अवसर पाउने गर्दथे । शिक्षा पाउने अधिकारबाट समेत वञ्चित गर्ने जुन काम भयो, त्यसका विरुद्ध भारतबाटै विद्यार्थीहरू एकजुट हुने अवस्था भयो । यो इतिहासले पनि पुष्टि गर्दछ– नेपालमा भएका ठुला राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको विशेष भूमिका थियो । जेनजी आन्दोलनले विद्यार्थीको भूमिकालाई अझै सशक्त बनाईदिएको छ ।
अबको दिनमा विद्यार्थीमाथिको भेदभाव, थिचोमिचो र अन्याय कदापि सैह्य हुन सक्दैन् । विद्यार्थीहरूले मनाउने यो दिवस केवल नारामै सीमित हुँदै आएको छ । तसर्थ अबको दिनमा विद्यार्थीहरूले नै आफ्नो अधिकारको बारेमा बोल्नु जरुरी छ ।
अनिमात्र यो दिवस मनाउनुको सार्थकता हुनेछ ।