© २०२३
चन्द्रौटा, ०१ मङ्सिर ।
कपिलवस्तुको बहादुरगञ्ज–रामनगर हुलाकी सडक अन्तर्गत पर्ने घोराही खोलामा पुल निर्माण कार्य सुरु भएको छ ।
वर्षाैंदेखि जोखिम मोलेर यात्रा गर्दै आएका स्थानीयवासी पुल निर्माण थालिएसँगै उत्साहित बनेका छन् । स्थानीय नसिम अहमदले आवतजावतमा निकै जटिल रहेको थियो । पुल निर्माण कार्य सुरु भएपछि खुसी लागेको बताए ।
जसले घोराही खोलाको जोखिमपूर्ण बाटो वर्षाैंदेखि भोगिरहेका थिए, पुल निर्माण सुरु भएको खबरले अत्यन्तै उत्साहित छन् । “आवतजावत निकै जटिल थियो ।
बच्चादेखि बुढाबुढी सबैलाई जोखिम थियो । अब पुल बन्छ भनेर सोच्दा नै हल्का महसुस भइरहेको छ”-ः नसिम भने । घोराही खोला सुक्खा मौसममा सामान्य लागे पनि वर्षा सुरु भएपछि खासै ठुलो नदेखिने खोला एकाएक बाटो रोक्ने, यात्रु अल्झाउने र कहिलेकाहीँ दुर्घटनासमेत निम्त्याउने परिवेश बन्ने गरेको उनले बताए ।
सडक निर्माण कार्य सकिए पनि पुल नहुँदा स्थानीयसँगै आवतजावत गर्ने यात्रुहरूलाई समस्या हुँदै आएको अर्का स्थानीय दिलीप यादवले बताए ।
बहादुरगञ्ज–रामनगर हुलाकी सडकको घुमाउरो मोड पार गर्दै घोराही खोलातिर झर्दा हरेक वर्षको बर्खामा यहाँको दृश्य एकै प्रकारको हुन्थ्यो–खोला वढेर बगिरहेको, किनारमा उभिएका मानिसहरू बाटो पर्खिरहेका र जो कोही पार गर्न खोज्छन्, उनीहरूका हातमा ज्यानको जोखिम । तर यस वर्षको बर्खा केही फरक हुनेछ ।
अब त्यही जोखिम र पीडाको कथा, पुल निर्माण सुरु भएपछि, अन्त्य हुँदैछ । हुलाकी सडकमा पर्ने घोराही खोलामा पुल निर्माणको कार्य सुरु भएको छ । पुल निर्माणका लागि ठेक्का प्रक्रियामा गई सम्झौता समेत भई सकेको ठेकेदार पक्षले जनाएको छ ।
निर्माण कम्पनीले ६ करोड लागत रकमको प्राइस स्ट्याबिलाइजेशनसहित पुल निर्माण हुन लागेको हो । घोराही नदीमा पुल निर्माणका लागि प्रगति कन्स्ट्रक्सन प्रतिभा जेभी बुटवलले ठेक्का पाएको छ । दिनहुँ हजारौँ यात्रुहरू सो सडकमा आवतजावत गर्ने गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, पोस्टल राजमार्ग निर्देशनालयले ठेक्का कार्यको लागि न्यूनतम मूल्याङ्कनमा परेको प्रगति कन्स्ट्रक्सन–प्रतिभा जेभी निर्माण कम्पनीलाई ठेक्का दिएको जनाएको छ ।
निर्माण कार्य अन्तर्गत बहादुरगञ्ज–रामनगर सडक खण्डमा २५ मिटर आरसिसी पुल र हुलाकी राजमार्गमा १५ मिटर आरसिसी पुल निर्माण गरिनेछ । साथै हुलाकी राजमार्गमा आवश्यक संरचनासमेत निर्माण पनि गरिने जनाइएको छ ।
पुल निर्माणका लागि २०८२ असार ३१ गते सम्झौता भई सकेको र २०८४ असार ३० गते पुल निर्माण कार्य सम्पन्न हुने ठेकेदारले जानकारी दिएको छ । हुलाकी सडक कालोपत्रे भए पनि विविध कारणले घोराही खोलाका पुल निर्माण हुन सकेको थिएन ।
अब यस खोलामा पुल निर्माण भएपछि स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको भनाइ छ ।
“हुलाकी सडक कालोपत्रे बनेपछि पनि पुल नहुँदा विकास रोकिएजस्तै भएको थियो । अब पुल निर्माणले व्यापार, शिक्षा, स्वास्थ्य सेवासहित सम्पूर्ण क्षेत्रमा नयाँ ऊर्जा थप्नेछ” उनले भने ।
पुल निर्माण थालिएसँगै अब यो खोला ‘डर’ होइन, ‘विकास’ को मार्ग बन्ने स्थानीयको विश्वास छ ।