© 2026
काठमान्डौ, १ मंसिर ।
अर्थमन्त्री रामेश्वर खनालले समाजका कुनै पनि व्यक्तिलाई पाखा पारिएको अनुभूति हुन नदिनु राज्यको दायित्व भएको बताएका छन् । त्यस्तो अनुभूति उत्पन्न भएमा नागरिक विद्रोही बन्ने सम्भावना बढ्ने उनले चेतावनी दिए ।
कर दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “यदि नागरिकले आफू पाखा पारिएको छैन, सरकारले सामाजिक सुरक्षाद्वारा हेरेको छ, विकासमा पहुँच दिएको छ, आर्थिक अवसर सिर्जना गरेको छ भन्ने अनुभूति पायो भने उनीहरू सरकार वा व्यवसायीप्रति विद्रोही हुँदैनन् ।”
जेनजी आन्दोलनले पनि यही कुरा पुष्टि गरेको उल्लेख गर्दै मन्त्री खनालले थपे, “राजनीतिक वृत्त तथा समाजमा अवसर नपाएको भावना, आर्थिक गतिविधि गर्न नपाएको अवस्था र पलायनको पीडाले नै जनतामा विद्रोहको मनोवृत्ति पैदा भयो, जसको क्षति हामी सबैले भोग्यौँ ।”
उनका अनुसार आम नागरिकको विकास–चाहना पूरा गर्न सके समाजमा आफैं शान्ति कायम हुन्छ । राजस्व प्रणालीमा योगदान र सुशासनको स्थापनाले समतामूलक समाज निर्माणको आधार हुने उनको भनाइ छ ।
अर्थमन्त्री खनालले भने, “राजस्व प्रणालीमा गरिएको योगदानले नै समतामूलक समाज निर्माण गर्न सकिन्छ, नागरिकको विकास–चाहना पूरा गर्न सकिन्छ, र त्यहीबाट समाजमा शान्ति कायम हुन्छ ।”
खनालले निजी क्षेत्रले संकटका बाबजुत पनि पुनस् उठ्ने मनोबल राख्नु सकारात्मक रहेको बताए । उनले आवश्यक सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।