© २०२३
दाङ, १ मङ्सिर ।
घोराही उपमहानगरपालिका –२ निमुरियाकी दामी चौधरी गुरधौली महिला कृषि समूहमा आबद्ध भएकी छन् ।
उनले समूहमा बसेर पैसा बचत गर्ने, अनावश्यक खर्च कम गर्न जस्ता कुराको ज्ञान लिएकी छन् । समूहमा सिकेको कुरालाई आफूमा लागु गर्नुपर्छ भनेर उनले बङ्गुर पालन, तरकारी खेती र घरमै नास्ता पसल पनि सञ्चालन गरेकी छन् ।
यी कामबाट उनलाई घर खर्च चलाउन सजिलो भएको छ । उनले भनिन्, ‘अहिले व्यावसायिक रूपमा काम गर्न थालेपछि आर्थिक रूपमा सबल बन्दै गएको छु ।’ समूहमा आबद्ध भएर ज्ञान सीप आर्जन गर्ने अनि आफूमा लागु गर्दै आएकी दामीले गाउँका अन्य महिलालाई सिकाउने गर्छिन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्के डाँगीकी सन्तोषी चौधरी व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी छन् ।
केही वर्ष अघिसम्म उनले निर्वाहमुखी खेती गर्दै आएकी थिइन् । गाउँ टोलमा रहेको जलजला महिला कृषि समूहमा आबद्ध भएपछि व्यावसायिक तरकारी खेतीबारे जानकारी लिइन् ।
उनले भनिन् ‘पहिले निर्वाहमुखी खेती गर्दै आएको थिए अहिले त सीप र व्यवहारिक पक्षका बारेमा जानकारी पाएपछि व्यावसायिक रूपमा खेती गर्न थालेको छु, कमाई पनि राम्रो भएको छ ।’ यसैबाट घर व्यवहार चलेको छ, अलिअलि बचत पनि गरेको छु ।
घोराही उपमहानगरपालिका वडा नम्बर ८ बेलुवाकी तिला चौधरी सगरमाथा महिला समूहकी अध्यक्ष हुन् ।
हिजो आज उनको दैनिकी फेरिएको छ । अहिले व्यावसायिक बाख्रा, कुखुरा पालन र तरकारी खेतीमा जोडिएकी तिलालाई घरमा सबैको साथ मिलेको छ । उनले बनाएको खोरमा अहिले कुखुरा हुर्किरहेका छन् । तरकारी बिक्री गरेर आम्दानी हुन थालिसकेको छ ।
समूहबाट घुम्ती कोष सहयोग लिएर तरकारी खेती, कुखुरा पालन, बङ्गुर पालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको उनले बताइन् । गाउँका ३० जना महिलाहरू समूहमा आबद्ध भएर सीप सिक्ने, आत्मविश्वास जगाउने तथा वित्तीय साक्षरताका बारेमा धेरै कुराको ज्ञान हासिल गरेर कृषि पेसामा जोडिएकी छिन् ।
समूहमा जोडिएर व्यावसायिक तरकारी खेती गर्न थालेपछि सन्तोषी बाह्रै महिना खेतबारीमा व्यस्त हुन थालेकी छन् । तीन वटा वडामा १३ वटा महिला समूह गठन गरिएको छ । जसमा करिब ४ सय बढी महिला दिदीबहिनीहरू आबद्धता छ ।
यति मात्रै होइन, बालबालिकाहरुमा सचेतना बढाउन र भोलिको सुन्दर भविष्य निर्माणका लागि तीन वटै वडामा वडा स्तरीय युवा क्लब पनि गठन गरिएको छ । जसबाट बालविवाह अन्त्य, लैङ्गिक हिंसा निवारणका बारेमा सचेतना फैलाउने काम हुँदै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरा मोती चौधरीले बताइन् ।
समूहले महिलाहरूको जीवन बदल्न तथा सामाजिक रूपान्तरणमा ठुलो भूमिका खेल्ने काम गरेको घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चित्रबहादुर चौधरीको धारणा छ ।
जसका कारण आज उनीहरू समाजका विभिन्न क्षेत्रमा स्थापित हुँदै गएको हुँदा समाजमा धेरै कुराको आयाम थपिएको उनी बताउँछन् ।