© २०२३
काठमाडौं ।
पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको सिफारिसमा नेपाल वायुसेवा निगमको कामू महाप्रबन्धक बनेका जनकराज कालाखेतीले सञ्चालक समितिको बैठकमा आफूले काम गर्न नसक्ने घोषणा गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू लगायत अन्य व्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने संकेत पाएपछि कालाखेतीले आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकमा विभिन्न कारणले काम गर्न नसकिएको जानकारी सम्बन्धित निकायमा दिने निर्णय गरेका हुन् ।
नेपाल वायुसेवा निगमको अध्यक्ष र महाप्रबन्धक दुवै पद अहिले रिक्त छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले तत्काल पदपूर्ति प्रक्रिया सुरु गर्न निर्देशन दिएकामा पर्यटन मन्त्रालयकी सचिव मैनालीले त्यसको स्पष्टिकरण दिनुपर्ने स्थिति बनेको थियो ।
केही साताअघि निमित्त महाप्रबन्धकको जिम्मेवारी पाएको कालाखेतीले काम गर्न नसकेको भन्दै आलोचना भोगेका थिए । वाइडबडी खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालत जाने संकेत पाएपछि उनले कामू जिम्मेवारी नलम्ब्याउने संकेत गरेका हुन् ।
पर्यटन मन्त्रालयका स्रोतका अनुसार, उहाँले सञ्चालक समिति मात्र होइन, सरकारलाई समेत यसबारे जानकारी गराउनुभएको छ र एक-दुई दिनमै बैकल्पिक व्यवस्था भए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्नुभएको थियो ।
चैत २०८० मा अख्तियारले वाइडबडी खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन पर्यटन मन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
३२ जनामध्ये निगमका तत्कालीन कामू निर्देशक जनकराज कालाखेतीलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। उनीमाथि खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रहँदै बदनियतपूर्वक काम गरेको आरोप थियो ।
तर विशेष अदालतले कालाखेतीलाई सफाइ दिएको थियो र उनले काममा फर्किएका थिए। फैसलाको पूर्णपाठ प्राप्त भएपछि अख्तियार त्यसविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छ ।