© २०२३
बुटवल, ३० कार्तिक ।
ग्रास रुट फुटबल विकास गर्ने उद्देश्यका साथ बुटवलमा छात्र÷छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सहयोगमा रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा स्वर्गीय अनुपम घलान, आदित्य बलम्पाखी, दिवस बाँनिया, प्रियन्स आचार्य, विकल रेग्मी र साइमन योन्जनको स्मृति जिल्ला स्तरीय एन्फा यु–१४ अन्तर विद्यालय (छात्र÷छात्रा) फुटबल प्रतियोगिता २०८२ बुटवलमा सुरु भएको हो ।
एन्फा टेक्निकल सेन्टर, देविनगरस्थित खेलमैदानमा आइतबार भएको उद्घाटन खेलमा कुवँरवर्ती ईगलिस बोर्डिङ स्कुलले शान्ति नमुना सेकेण्डरी स्कुललाई ७–३ गोल अन्तरले पराजित गरेको छ ।
कुवँरवर्तीको जितमा बर्षा सुनार नायक रहिन । उनले खेलमा डबल ह्याट्रिक गरिन । उनले खेलको १९, २१, ३८, ४२, ५२ र ५३ औ मिनेटमा गोल गरिन ।
खेलको १५ औ मिनेटमा सफलता गिरी थप एक गोल गरिन । शान्ति नमुनाकी स्वस्तिका चौधरीको ह्याट्रिक जितका लागि पर्याप्त भएन । यसै गरी छात्रातर्फ अर्को खेलमा लुम्बिनी वल्र्ड स्कुलले अक्सफोर्ड बोर्डिङ स्कुललाई ६–० गोल अन्तरले पराजित गरेको छ ।
आइतबार नै भएको छात्रतर्फको खेलमा स्कलर्स होम बोर्डिङ स्कुलले कुवँरवर्ती ईगलिस बोर्डिङ स्कुललाई २–१ गोलले पराजित गरेको छ । स्कलर्सको जितमा सुजन भण्डारीले खेलको १० र २० औ मिनेटमा विजयी गोल गरे ।
कुवँरवर्तीका आवास शाहीले खेलको २९ औ मिनेटमा सान्त्वना गोल गरे । यसै गरी छात्रतर्फ नै भएको अर्को खेलमा सिद्धार्थ बोर्डिङ स्कुलले लुम्बिनी वल्र्ड स्कुललाई ६–० गोल अन्तरले पराजित गरेको छ ।
सिद्धार्थको जितमा बिशाल बिकले ह्याट्रिक गरे । उनले खेलको १८, १९ र ५५ औ मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरे । यसै गरी प्रमिद थापाले खेलको ३७ र ४५ तथा एलिन थापाले खेलको ५९ औ मिनेटमा गोल गरे ।
यसै गरी अर्को खेलमा न्यु होराईजन ईगलिस बोर्डिङ स्कुलले बुटवल पब्लिक स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ । न्यु होराईजनको जितमा खेलको १५ औ मिनेटमा सजग थापा, खेलको ३५ औ मिनेटमा अरिप्ट सुर्यबंशी र ६० औ मिनेटमा निर्णयराज पुनले गोल गरे ।
कार्यक्रमको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), जिल्ला अध्यक्ष लोक पुन, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, नवीन औद्योगिक माविका प्रेम बस्नेतले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले एन्फाको प्राथमिकतामा ग्रास रुट फुटबल भएको बताए । विद्यालय स्तरमा ग्रास रुट लेभलमा जोड दिन सके फुटबलमा खेलाडी उत्पादन हुने उनको तर्क छ ।
पढाइसँगै खेलकुद हरेक विद्यार्थीलाई आवश्यक रहने कुरा अभिभावकलाई बुझाउन समेत जरुरी रहेको उनले बताए । रुपन्देहीमा धेरै विद्यालयहरूमा खेलकुद अभ्यास र प्रतियोगिता सञ्चालन गरेर खेलाडी उत्पादनमा योगदान दिएको उनले स्मरण गरे ।
‘यहाँका विद्यालयहरुसंग समन्वय गरेर हरेक हप्ता बिदाको दिन लिग प्रतियोगिता सञ्चालन गर्ने तयारीमा छौ ।’–उनले भने ।
प्रतियोगिताको सोमबार छात्रतर्फ नवीन औद्योगिक मावि र ब्राईट स्टार ईगलिस बोर्डिङ स्कुल, ग्यालेक्सी बोर्डिङ स्कुल र कान्ति सेकेण्डरी स्कुल, शान्ति नमुना स्कुल र ग्रिन प्लान्ट बोर्डिङ स्कुल, अक्सफोर्ड सेकेण्डरी स्कुल र होराईजन जिबिएसका बिचमा खेल हुने खेल संयोजक बुद्धि गुरुङले बताए ।
यसै गरी छात्रातर्फ न्यु होराईजन बुटवल र जनज्योति स्कुल तथा सिद्धार्थ बोर्डिङ स्कुल र नवीन औद्योगिक माविका बिचमा खेल हुने छ । मङ्सिर ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका छात्रतर्फ १६ र छात्रातर्फ ८ टिमले भाग लिएका छन् ।