© २०२३
काठमाडौं, ३० कात्तिक ।
निर्वाचन आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल आयोगमा दर्ता भएको जानकारी गराएको छ ।
अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १२२ वटा दल दर्ता भएका थिए र आजको मितिसम्म पनि सोही संख्या कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् भने ७ वटा पुराना दल खारेज भएका छन् ।
‘एउटा अदालतको आदेश र ६ वटा सम्बन्धित दलका पदाधिकारीको निवेदनका आधारमा आयोगले खारेजीको निर्णय लिएको हो,’ भट्टराईले भने ।
त्यसैगरी, अन्य २८ वटा राजनीतिक दल अहिले दर्ताको प्रक्रियामा रहेका छन् । आयोगमा कागजात पेश भएका यी दलहरूबारे सनाखत र कागजात जाँचको काम भइरहेको उनले जानकारी दिए ।
भट्टराईले भने, ‘निर्वाचन घोषणा हुँदा १२२ वटा दल थिए । यसबीचमा ७ वटा दल खारेज भए र त्यति नै नयाँ दल थपिए । अहिलेसम्म २८ दल दर्ताका लागि पाइपलाइनमा छन् ।’
उनले थपे, ‘कागजात लिएर आयोगमा पुगेको दलको अध्ययन र सनाखत पश्चात् प्रमाणपत्र दिइनेछ । कानुन अनुसार कागजात माग्ने र सनाखत गराउने काम भइरहेका छन् । सनाखत र कागजात प्राप्त भएपछि आयोगले निर्णय गर्नेछ ।’
भट्टराईले नयाँ दल जेनजीका वा अन्य किसिमका छुट्टै वर्गीकरण भने आयोगले नगरेको जानकारी पनि दिए ।