© २०२३
नेपाल बैंक नेपालको पहिलो बैंक हो ।
जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो ।
नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बंैक लिमिटेडलाई जान्छ । भारतीय रूपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंक लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानाहरूमा सदा लेखिइरहने नै छ ।
त्यसैगरी वि.सं. १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको नेपाल बंैक लिमिटेड नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको गौरवशाली बैंक हो ।
नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ ।
नेपालको आर्थिक विकासमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८९औँ वर्षसम्म अटुट रूपमा बैंकिङ सेवा प्रदान गर्न सफल भई आफ्नो निरन्तर यात्रामा गतिशील रूपमा लागि परिरहेको छ ।
नेपाल र नेपालीसँगको सम्बन्धः
स्थापनाकालदेखि हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक नेपाली माटो र हरेक नेपालीजनसँग प्रगाढ सम्बन्ध गाँसिएको बैंक हो । बालक, युवा र प्रौढ हुँदै जेष्ठ नागरिक सबैको पहिलो रोजाइको बैंक बन्न सफल नेपाल बैंक लिमिटेडमा हाल २६ लाख बढी ग्राहक छन् ।
पुस्तौँदेखि पुस्तासम्म गहिरो इतिहास भएको यो बैंक हाल ‘सबै पिढीको साथी’ का रूपमा अगाडि बढिरहेको छ । सरकारी वित्तीय काराबवार गर्ने जिम्मेवारी पाएका कारणले पनि नाफामात्र नभई उच्च सेवाभावले आम नेपालीको मन मस्तिष्कमा रहन यो बैंक ओतप्रोत रहेको छ ।
बैकको मूल ध्येय नै ग्राहकलाई कसरी गुणस्तरीय र सहज ढङ्गले वित्तीय सेवा उपलब्ध गराउने भन्नेमा छ । ठुला उद्यमी व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपालीजनको प्राथमिकतामा नेपाल बैंक लिमिटेड सधैँ अग्रपङ्क्तिमा रहेको यथार्थ हामी सबैका सामु छर्लङ्गै छ ।
वास्तवमा नेपाल बैंक लिमिटेड आफ्नो ८९ वर्षे लामो यात्रामा लाखौँ नेपालीको मन जितेर उनीहरूको पहिलो रोजाइको बैंक बन्न सफल भएको छ ।
प्रभावकारी ग्राहक सेवाः
नेपाल बैंकले आफ्नो ग्राहक सेवामा जुन फ्डको मारिरहेको छ । त्यसै अनुसार आम ग्राहकहरूको धारणामा समेत व्यापक परिवर्तन आएको देखिन्छ ।
हालका बर्षहरूमा नेपाल बैंकले प्रभावकारी ग्राहक सेवार संस्थागत कार्यसंस्कृतीमा धरै ठूलो सकरात्मक परिवर्तन गरेको देखिन्छ । आफ्ना भइरहेका ग्राहकहरूलाई कसरी कायम राखिरहने र नयां ग्राहकलाई कसरी आकर्षित गर्ने भन्ने रणनीतिका साथ बैंक अगाढि बढिरहेको देखिन्छ ।
बजारीकरणको सबैभन्दा प्रमुख उपकरण भनेकै गुणस्तरीय ग्राहक सेवा हो र यसको प्रभावकारीबाट मात्र व्यवसायमा खरो प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरामा बैंक सचेत देखिएको छ ।
लगानीका क्षेत्रः
नेपाल बैंकले आफ्नो लगानीलाई कुनै निश्चित क्षेत्रमा केन्द्रिकृत नगरी बिभिन्न क्षेत्रहरूमा विविधिकृत गरिरहेको छ ।
लगानी विविधिकृत गरिएकै कारण यस बैंकले कर्जा जोखिमको समस्यालाई न्यूनीकरण गर्न सकिरहेको देखिन्छ । साना, मझौला तथा ठूला उद्योग, ब्यापार व्यवसाय, कृषि, पर्यटन, जलविद्युत् लगायत सरकारी नीति अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य छ ।
युवा स्वरोजगारका क्षेत्रमा होस् वा महिला उद्यमशीलताका क्षेत्रमा होस्, बैंकले उल्लेखनीयरूपमा लगानी गरेको छ । समग्रमा वित्तीय नीति र मौद्रिक नीतिको सफल कार्यान्वयनमा बैंकले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वः
बैकिङ सेवासँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोच अनुरूप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका धेरै महत्त्वपूर्ण क्षेत्रहरूमा आफ्नो सहभागिता जनाएको छ । कैयौँ समाजसेवाका कार्यहरूमा बैंक निरन्तर साथ दिइरहेको छ ।
त्यसैगरी हरेक नेपालीहरूमा वित्तीय ज्ञान एवं चेतना प्रदान गर्दै वित्तीय पहुँचको विस्तार एवं वित्तीय समावेशीकरणमार्फत आर्थिक समृद्धिको आधारशिला निर्माणमा टेवा प्रदान गर्न देशव्यापी रूपमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
प्राकृतिक प्रकोप, महामारीलगायतका विभिन्न सङ्कटहरूमा अग्रपङ्क्तिमा रही बैंकले अतुलनीय रूपमा सामाजिक उत्तरदयित्व पूरा गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
आर्थिक विकासमा योगदानः
अर्थतन्त्रको मौद्रिकीकरण तथा देशैभर शाखा सञ्जाल विस्तारमार्फत वित्तीय पहुँच बढाएर एवं सरकारका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गरी गरिबी निवारणमा योगदान दिएर उद्योग तथा वाणिज्य क्षेत्रको विकासमार्फत प्रत्यक्ष र परोक्ष रूपमा रोजगारी सिर्जना गरेर नेपाल बैकले आर्थिक विकासमा प्रभावकारी भूमिका खेलिरहेको छ ।
साना मझौला एवं ठूला सबै खाले उद्यम र परियोजनामा बैंकले ऋण लगानी गरेको छ । कृषि, पर्यटन, जलविद्युत् लगायत सरकारको नीतिअनुसार प्राथमिकताप्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य छ ।
युवा स्वरोजगारका क्षेत्रमा होस् वा महिला उद्यमशिलता, शैक्षिक बेरोजगार व्यक्तिहरूलगायत विदेशबाट फर्किएका सीपयुक्त व्यक्तिहरूलाई सक्षम एवं आत्मनिर्भर बनाउन सरकारले दिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई समेत बैंकले प्रभावकारी रूपमा कार्यान्वयन समेत गर्दै आइरहेको छ ।
अत्याधुनिक प्रविधिको प्रयोगः
नेपाल बैंक लिमिटेडले समयसंगै प्रविधिको उच्चतम प्रयोग र ग्राहक सुविधामा डिजिटल प्रविधिहरूको प्रयोगलाई उच्च प्राथमिकता दिएर अगाडि बढेको छ ।
यसैक्रममा नेपाल बैंकका ९ लाख ४४ हजार ग्राहकहरूलाई मोबाइल बैंकिंग सुविधा, ३० हजार ग्राहकहरूलाई इन्टरनेट बैंकिङ् सुबिधा, ३ लाख ६२ हजार ग्राहकहरूलाई डेबिट कार्ड सुविधा, ४ हजार ५ सय ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा, १ लाख १५ हजार ग्राहकहरूलाई मेरो शेयर तथा सिआस्वा सुविधा, ४६ हजार भन्दा बढी क्युआर वितरण गर्दै देशका विभिन्न ठाउँहरूमा रहेका २३७ एटिएम मेसिनहरूबाट नगद निष्काशन गर्ने सुविधा तथा ट्राभल कार्ड मार्फत विदेशवाट समेत कारोवार गर्ने व्यवस्था गरेको छ ।
यस्तैगरी आधुनिक बैंकिङलाई आत्मसाथ गर्दै अनलाइन चेक क्लियरिङ्ग मेसिनमार्फत चेक क्लियरिङ्ग गर्ने र क्यास डिपोजिट मेसिनमार्फत ग्राहक आफैंले नगद जम्मा गर्ने व्यवस्था समेत गरेको छ ।
साथै एटिएम कार्डहरूमा ई.कमर्स सुविधा साथै मोको डिजिटल वालेट मार्फत कारोबार गर्ने सुविधा थप्दै आधुनिक समयमा प्रचलित रहेका विभिन्न अनलाइन प्लेटफर्महरूमा समेत कारोबार गर्ने व्यवस्था गरेको छ । यसका साथै ग्राहकहरू घरमै बसीबसी अनलाइनबाट र नागरिक एपबाट खाता खोल्ने सुविधा, अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधा समेतको व्यवस्था गरेको छ ।
वर्तमान अवस्थाः
बैंकले नेपालभर २३१ शाखा मार्फत कारोबार गर्दै आएको छ । शाखाबाहेक २३७ वटा एटिएम, ६१ वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । यतिमात्रै होइन, हाल आएर नेपाल बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल भइरहेको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् ।
साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । वि.सं.२०८२ असार मसान्तसम्म रु ३३२ अर्ब निक्षेप सङ्कलन गरी २३६ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । ८८ वर्षअघि ८ लाख ४२ हजार रूपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्तापुँजी अहिले १४.६९ अर्ब छ ।
प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २३.९३ अर्ब रूपैयाँ रहेको छ भने ३८ अर्ब बढी नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ ।
दक्ष युवा जनशक्ति तथा कुशल व्यवस्थापनः
नेपाल बैंक लिमिटेडले यो स्तरको सफलता हासिल गर्नुमा त्यहाँका जनशक्तिले थापेको काँधलाई किमार्थ भुल्न सकिँदैन । आधुनिक प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्य रहेको यस बंैकमा करिब ३५०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् ।
यस बैंकमा कार्यरत कर्मचारीहरूको औसत उमेर ३७ वर्ष रहेको छ भने महिला र पुरुष कर्मचारीहरूको सङ्ख्यामा उचित सन्तुलन रहेको छ । आफ्नो ८९ वर्षे इतिहासका दौरानमा बैंकले धेरै नै आरोहअवरोह सहनुप¥यो तर आम नेपालीहरूको अटुट साथ र दिगो सम्बन्धले नै बैंक हरेक चुनौतीहरूलाई पार गर्दै वित्तीय क्षेत्रको बलियो खम्बाका रूपमा आफूलाई स्थापित गराउन सफल भएको हो ।
यात्रामा आउने जस्तासुकै चुनौती र अप्ठ्यारा परिस्थितिलाई पार लगाउन बैंक पूर्णरूपले सक्षम देखिएको छ । बैंकले हालसम्म आइपुग्दा नेपाली अर्थतन्त्रको विकासमा अतुलनीय योगदान गरेको छ । स्थानीय तहका व्यक्तिहरूलाई वित्तीय रूपमा साक्षर बनाउने, लगानीका अवसरहरू सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रको विकासमा जोड दिने कार्यमा नेपाल बैंकले अग्रणी भूमिका खेलेको छ ।
सबै नेपालीलाई प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धतामा बैंक निरन्तर अघि बढेको छ । डिजिटल नेपालको अभियानमा दर्बिलो सारथीका रूपमा आफूलाई उभ्याउन बैंकले प्रभावकारी ग्राहक सेवामा जोड दिएको छ । नेपाल बैंक मुलुकको उन्नति र प्रगतिका मामिलामा नाफा र घाटा मात्र नहेर्ने बैंक भएकोले नै आज अनवरत विश्वासको ८९ औं बर्ष मा प्रवेश गरेको छ ।
नेपालको बैंकिङ इतिहासमा कार्तिक ३० एउटा महत्वपूर्ण दिन हो र यस दिनलाई नेपालको बैंकिङ क्षेत्रले एउटा विशेष दिनको रूपमा मनाउन आवश्यक छ र यसको लागि नेपाल सरकारले कार्तिक ३० गतेलाई बैंकिङ दिवस घोषणा गरी यस दिनको महत्वलाई स्थापित गर्न जरुरी देखिन्छ ।