© २०२३
लुम्बिनी, रुपन्देही ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ को नयाँ कार्यालय भवनको आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। आधुनिक सुविधासहित निर्मित यो भवन वडावासीका आवश्यकताहरूलाई ध्यानमा राखी निर्माण गरिएको हो। उद्घाटन कार्यक्रममा स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका प्रमुख अतिथि तथा नगरपालिकाका कार्यवाहक मेयर कल्पना हरिजनले भवनको उद्घाटन गर्दै नयाँ संरचनाले नगरपालिकाका सेवासुविधालाई अझ छरितो, पारदर्शी र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गरिन्।
नयाँ भवनमा अत्याधुनिक प्रविधियुक्त सेवा कक्ष, नागरिक अभिमुख केंद्र, बैठक हल, अभिलेख व्यवस्थापन प्रणाली, अपांगता–मैत्री संरचना तथा हरित भवनका आधारभूत मापदण्डहरू समावेश गरिएको छ। मेयर हरिजनले भवन सञ्चालनमा आएपछि प्रशासनिक कार्यहरू द्रुत, व्यवस्थित र प्रभावकारी रूपमा अघि बढ्ने बताइन्।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले पनि नयाँ भवनबाट सेवा प्राप्तिमा उल्लेखनीय सहजता आउने विश्वास व्यक्त गरिन्। उनले नगरपालिकामा धेरै विकास निर्माण भए पनि ती मध्येकै धेरै कामबारे जनताले जानकारी नपाउने र मिडियामा समेत नआउने उल्लेख गर्दै, “आगामी मंसिर महिनाभित्र नगरपालिकाको नयाँ भवनको शिलान्यास गर्ने प्रतिवद्धता लिएको छु,” भनिन्।
ज्ञवालीले विगतमा रोकिएका केही निर्माण कार्य छिट्टै सञ्चालनमा ल्याइने र महिलवारदेखि झुलनिपुर तथा मोगलहा–धुपहि सडक निर्माण कार्य पनि केही महिनाभित्र सुरु हुने जानकारी दिइन्। नागरिकका सुझाव र प्रतिक्रियाले नगरपालिकालाई अझ सबैमुखी सेवा सुधारतर्फ प्रेरित गरेको उनले बताइन्।
वडा नं. ६ का अध्यक्ष नईमुल हक मुसलमानले नयाँ कार्यालय भवनले सेवाप्रवाहमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “पहिले वडा नं. ५ र ६ एकै भवनबाट सेवा वितरण हुँदा केही समस्या देखिन्थ्यो। अब नयाँ भवनबाट सेवा थप व्यवस्थित र आधुनिक ढंगले प्रदान हुनेछ।” भवनमा विस्तृत सेवा कक्ष, अपांगता–मैत्री संरचना, बैठक हल तथा अभिलेख व्यवस्थापनका लागि विशेष कक्ष कायम गरिएको उनले जानकारी दिए।
उद्घाटनपछि स्थानीयवासी तथा समुदायका प्रतिनिधिहरूले भवनको अवलोकन गरेका थिए। उनीहरूले आधुनिक सुविधासहितको कार्यालय भवन निर्माणप्रति खुशी व्यक्त गर्दै यसले भविष्यमा सेवा वितरणलाई सहज, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरे।