© २०२३
काठमाडौँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको भावनाअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव एसएमटी बैठकमा मन्त्री अर्यालले सो निर्देशन दिएका हुन् ।
मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गरी ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको सरकार निर्वाचन गराउने सरकार भएकाले चुनावलाई अझ बढी सहभागितामूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्न जिम्मेवारी बहन गर्न निर्देश गर्दछु ।’
अर्यालले कर्मचारीहरूले जनसरोकारका विषयमा चासो राख्न र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न निर्देशन दिएका छन् । उनले परिवर्तनको अनुभूति महसुस गराउने गरी सेवा प्रवाहमा लाग्न सबै कर्मचारीलाई निर्देशन दिएका हुन् ।
बैठकमा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरण गर्न निर्देशन दिएका छन् ।
बैठकमा गृहसचिव रामेश्वर दंगालले राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावली र नागरिकता नियमावली परिमार्जनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।