© २०२३
जितपुर, ३० कार्तिक ।
वाणगंगामा आयोजित प्रथम साइकल यात्रामा देशभरका ४ सयभन्दा बढी साइकल यात्री सहभागी भई ७० किमी लामो यात्रा सम्पन्न गरेका थिए ।यस यात्राले जिल्लाका प्रमुख पर्यटकीय, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्याएको आयोजकहरूले बताएका छन् ।
स्थानीय समुदायको सक्रिय सहभागिता र स्वागतले आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ ।
कपिलवस्तु —जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले प्रथम वाणगंगा साइकल यात्रा गरिएको छ । वाणगंगा राइडर्स क्लबको आयोजनामा शनिबार वाणगंगाको जितपुरबाट ७० किमी लामो साइकल यात्रा गरिएको हो ।
विश्व साइकल यात्री पुष्कर शाहसहित देशभरका ४ सय बढी साइकल यात्री सहभागी थिए । कपिलवस्तुको चार नम्बरबाट साइकल यात्रा सुरु भई पिपरा, सुपादेउराली मन्दिर, नन्दनगर गुरुकुल, मधुवनधाम, जिनुवा, कपिलधाम, लक्ष्मणघाट, जगदीशपुर, सगरहवा, निग्लिहवा, राजापानी र मधौली पार्क हुँदै पुनः चार नम्बरमा पुगेर सम्पन्न भएको थियो ।
साइकल यात्रीलाई ठाउँ ठाउँमा स्थानीयले फूल माला र बाजागाजासहित स्वागत गरेका थिए । त्यस्तै यात्रालाई व्यवस्थित बनाउन स्थानीयले ठाउँ ठाउँमा खाजा र पानी वितरण र विश्राम स्थल बनाएका थिए ।
वाणगंगा नगरपालिकाका ११ वटै वडाका प्रमुख पर्यटकीय स्थल र कपिलवस्तु नगरपालिकाको वडा नं। ९ र १० मा पर्ने जगदीशपुर ताललाई समेटेर रुट तय गरिएको हो ।
शनिबार बिहान साढे ७ बजे सुरु भएको यात्रा साँझ साढे ५ बजे सम्पन्न भएको थियो । कपिलवस्तुमा सबै खाले पर्यटकलाई आकर्षित गर्न सक्ने ठाउँ, ताल, नहर, ऐतिहासिक तथा पुरातात्त्विक स्थल रहेको यात्राका सहभागी मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।
देशका अधिकांश ठाउँमा साइकल यात्रीलाई जोडेर आयोजित साइकल यात्राले आन्तरिक पर्यटन प्रवर्द्धनमा ठुलो भूमिका खेलेको विश्व साइकल यात्री पुष्कर शाहले बताए । साइकल यात्राले गाउँ, प्रकृति, जीवन र स्थानीय रहनसहनसँग निकटता बढ्ने उनले बताए ।
साइकल यात्रामा २२ जिल्लाका ४ सय बढी साइकल यात्री सहभागी थिए । यात्राले यहाँका ऐतिहासिक, सांस्कृतिक, ग्रामीण र प्राकृतिक मनोरम स्थलको प्रचारप्रसारमा सहयोग पुगेको वाणगंगा राइडर्स क्लबका अध्यक्ष विष्णुप्रसाद सापकोटाले बताए ।
साइकल यात्राको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले गरेका थिए ।