© २०२३
काठमान्डौ, ३० कार्तिक ।
नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानको केन्द्रीय कमिटी बैठकले संगठन विस्तार र राजनीतिक घोषणापत्र तयारीबारे विस्तृत छलफल गरेको जनाएको छ । संयोजक घनश्याम भुसालको अध्यक्षतामा शनिबार बसेको बैठकमा संगठन विस्तारदेखि घोषणापत्र तथा विधानका प्रारम्भिक खाका सम्बन्धी तयारीसम्मका विषय समेटिएको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रस्तुत राजनीतिक घोषणापत्र र विधानका प्रारम्भिक मस्यौदाहरूमा गहन छलफल गरिएको थियो । छलफलमा उठेका सुझाव तथा बुँदाहरू समेटेर संयोजक भुसालले आगामी बैठकमा संशोधित घोषणापत्र तथा विधानको मस्यौदा पुनः प्रस्तुत गर्ने निर्णय गरिएको छ ।
पुनर्गठन अभियानअन्तर्गत पार्टीका जिल्ला तथा स्थानीय कमिटीहरूलाई छिटोभन्दा छिटो व्यवस्थित र विस्तार गर्न बैठकले निर्णय गरेको अर्यालले बताए ।
अभियानले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत गरेको छ । साथै, कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिसँग सहकार्यका लागि आवश्यक समन्वय र छलफल गर्न संयोजक भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरिएको छ ।