Butwal Today

विश्वप्रकाशले देउवालाई भने– निर्वाचनअघि महाधिवेशन नगरिए महामन्त्रीबाट राजीनामा दिन्छु

३० कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन नभए महामन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।

आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर महामन्त्री शर्माले त्यस्तो चेतावनी दिएको शर्माले उनी निकट नेताहरूलाई बताएका छन् ।

निकटस्थ स्रोतका अनुसार शर्माले विधानअनुरूप विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई बेवास्ता गर्न नमिल्ने भन्दै निर्वाचन अघि महाधिवेशन नभए राजीनामा दिने बताएका हुन् ।

विधान अनुरूप गरिएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर विपरीत हुने गरी पार्टीले निर्णय गरे महामन्त्री पदबाट राजीनामा गर्ने महामन्त्री शर्माले देउवालाई जानकारी दिएका हुन् ।

विधानअनुरूप विशेष महाधिवेशन बाध्यकारी भएको शर्माले देउवालाई जानकारी गराएको स्रोतले बतायो ।शर्माले त्यो जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराइसकेका नेताहरू बताउँछन् ।

कांग्रेस विधानको धारा १७ (२) मा केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यकता देखेर निर्णय गरेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

विधानको यही धारा अन्तर्गत रहेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् ।

लिखित माग गरेको ३ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था विधानमा भएकाले पुस मसान्तसम्म सकभर नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने देखिन्छ ।