© २०२३
काठमाडौं, ३० कात्तिक ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ बुङ्दलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्व नवलपरासीको कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ छन् । वीरबहादुर मोटरसाइकल चालक हुन् भने चन्द्रबहादुर पछाडि बसेका थिए ।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल मकवानपुरगढी गाउँपालिका ५ र भीमफेदी गाउँपालिका–१ को सिमाना पर्ने बुङ्दल खोलाको पुलबाट करिब ५० मिटर खसेको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार आइतबार बिहान करिब सात बजे स्थानीयले खोलामा मोटरसाइकल र अचेत अवस्थामा रहेका दुई व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय चौकीटोलबाट प्रहरी घटनास्थल पुगेको थियो, जहाँ दुवैजनाको मृत्यु भइसकेको अवस्था भेटियो । दुर्घटनास्थलको प्रकृति हेर्दा घटना शनिबार रातिको समयमा भएको अनुमान गरिएको एसपी बोहोराले बताए ।
प्रहरीको अनुमान अनुसार मोटरसाइकल पश्चिम (सुपारेटार–ब्यारेक)बाट पूर्व (सामरी–धादिङ) तर्फ गइरहेको अवस्थामा दुर्घटना भएको थियो । दुवै शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएका छन्, जहाँ परिवारजनले शव पहिचान गरेका थिए ।