© २०२३
नेपालगन्ज, ३० कात्तिक ।
बाँकेमा पत्रकार महिलाको भेलाले १० बुँदे घोषणा पत्र जारी गरेको छ ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेको १८औँ वार्षिकोत्सवको अवसरमा नेपालगन्जमा आयोजित भेलाले पत्रकार महिलाको पेसागत क्षमता, दक्षता र सुरक्षित कार्य वातावरणका लागि ठोस प्रतिबद्धता राख्दै घोषणा पत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा पत्रकार महिलाको पेसागत हकहितका लागि सक्रियता बढाउने, क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, प्रविधि र नयाँ उपकरणबारे तालिम प्रदान गर्ने जस्ता बुँदाहरू समेटिएका छन् ।
त्यस्तै, मिडियालाई लैङ्गिक–मैत्री बनाउन सञ्चार संस्थालाई लैङ्गिक निर्देशिका जारी गर्न आग्रह गर्ने, मिडिया हाउसहरूमा महिलाको नेतृत्व बढाउन पहल गर्ने र कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुर्व्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम चलाउने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ ।
भेलाले महिला पत्रकारका लागि डिजिटल सुरक्षा तालिम, अनलाइन दुर्व्यवहारको प्रतिरोध प्रणाली, तथ्य जाँचमा (फ्याक्ट–चेकिंग) सुधार, खोज पत्रकारिता तालिम, फेलोसिप र लेखन वृत्ति जस्ता अवसरहरू उपलब्ध गराउने उल्लेख गरेको छ ।
साथै, बाँकेमा कार्यरत पत्रकार महिलाका अवस्था, चुनौती र अवसरबारे अध्ययन तथा अनुसन्धान गर्ने योजनासमेत समावेश छ ।
पत्रकार महिलाहरूको बाँके भेला अघि डब्लुडब्लुजेको १८औँ वार्षिकोत्सव समारोहको उद्घाटन संस्थाकी केन्द्रीय अध्यक्ष रामकला खड्काले गरेकी थिइन् । उनले पत्रकार महिलाको सङ्ख्यात्मक तथा गुणात्मक विकासका लागि सङ्गठन सक्रिय रूपमा लागिरहेको बताइन् ।
त्यसै गरी, डब्लुडब्लुजे लुम्बिनी प्रदेश अध्यक्ष लीला शाहले आर्थिक र सामाजिक कारणले धेरै महिलालाई पत्रकारितामा टिकिरहन गाह्रो हुने बताउँदै तीनै तहका सरकारलाई क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।
वार्षिकोत्सव समारोहमा अभिनयमा आधारित रियालिटी सो ‘एक्टिङ स्टार’ की विजेता नबीना रानाभाटलाई विशेष सम्मान गरिएको थियो । केन्द्रीय अध्यक्ष रामकला खड्का, प्रदेश अध्यक्ष लीला शाह र जिल्ला अध्यक्ष सावित्री गिरीले संयुक्त रूपमा उनलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
नबीना रानाभाटले २०७९ असोज २९ गते एपीवान टेलिभिजनबाट प्रसारण भएको सो प्रतियोगितामा उपाधि जितेकी थिइन् । सोही अवसरमा दैनिक नेपालगन्ज पत्रिकामा कार्यरत सन्ध्या गैरेलाई उदाउँदो पत्रकारका रूपमा सम्मान गरिएको थियो ।
उनलाई नगद रु. २,१००, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । गैरे सम्भवतः बाँकेमा कार्यरत सबैभन्दा कान्छी पत्रकार हुन् ।
कार्यक्रममा डब्लुडब्लुजे बाँकेकी संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार अक्षरी पोखरेललाई पनि सम्मान गरिएको थियो । त्यसै गरी महिला विषयमै केन्द्रित ‘हाम्रो आवाज’ स्मारिकाको तेस्रो अङ्क विमोचन गरिएको थियो ।
स्मारिकामा पत्रकार महिलाले समाजका विभिन्न क्षेत्रमा स्थापित अग्रणी महिलाका अनुभव तथा महिलाका विषयमा ३२ वटा खोजमूलक सामग्री समावेश गरिएका छन् ।