© २०२३
बुटवल, २९ कात्तिक ।
बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ ।
शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद रास्वपा प्यानलले जितेको छ ।
बुटवल उपमहानगरपालिकाको वडा नं. १४, १५ र १९ का १७ सय उपभोक्ता रहेको यस निर्वाचनमा १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १७१ मतदाता सहभागी थिए ।
निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीका अनुसार अध्यक्षमा रास्वपाका कृष्ण थापा ८८ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत ल्याएर पराजित भए । मल्ल बुटवल उपमहानगरपालिका–१४ का कांग्रेस वडा सभापति हुन् ।
वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित भएका छन् ।
महिला सदस्यमा राधा कार्की खाँण र सीता बस्नेत तथा अन्य सदस्यमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी भए । लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट सदस्य निर्वाचित भएका हुन् ।
आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे र सदस्यमा लक्ष्मण सेन निर्वाचित भए भने महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट चयन भएको निर्वाचन समितिका संयोजक खत्रीले जानकारी दिए ।
रास्वपाबाट निर्वाचित सचिव मधुप्रसाद घिमिरेले आफूहरूले उपभोक्ता संस्थामा दुई ठूला दलले सिन्डिकेट नगरी सबै दलको सहमतिमा नेतृत्व चयनको प्रस्ताव राखेपनि “१० मत पनि नभएको दल” भन्दै होच्याइएकाले चुनावमा प्रतिस्पर्धा गर्नुपरेको बताए ।
रास्वपाको प्यानललाई कुनै दलगत समर्थन नरहे पनि परिवर्तन चाहने मतदाताको साथ पाएको घिमिरेले बताए ।
यसअघि ५ हजार मतदाता रहेको बुटवलकै नयाँगाउँ खानेपानी संस्थामा पनि रास्वपाले कांग्रेस–एमाले गठबन्धनलाई कडा चुनौती दिएको थियो । त्यहाँ रास्वपाको प्यानल ५७ मतको झिनो अन्तरले पराजित भएको थियो ।