© २०२३
सल्यान, २९ कार्तिक ।
सल्यानबाट औषधीय गुण भएका ५० हजार बिरुवा उत्पादन गरेर ३५ हजार बिरुवा रोपण गरिएको छ ।
जैविक विविधता संरक्षणका लागि निरन्तर लागिरहेको वनस्पति अनुसन्धान केन्द्र सल्यानले आर्थिक वर्ष २०८१/८२ मा ५० हजार औषधीय गुण भएका बिरुवा उत्पादन गरेको हो ।यसमध्ये ३५ हजार बिरुवा किसान तथा समुदायलाई वितरण गरिएको अनुसन्धान केन्द्रका प्रमुख डाक्टर मित्र पाठकले जानकारी दिए ।
किसानहरूको आर्थिक समृद्धि, व्यक्तिको स्वास्थ्य सुरक्षा, वातावरण संरक्षण र परम्परागत ज्ञानको निरन्तरताको लागि जडीबुटीका बिरुवा उत्पादन र खेती विस्तारले महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
अनुसन्धान केन्द्रका अनुसार विगतकामा वार्षिक एक लाख बढी बिरुवा उत्पादन हुने गरेकोमा पछिल्लो समय बजेटको सीमितता एवं मागको आधारमा कम बिरुवा उत्पादन भएको हो ।
यद्यपि बिरुवाको गुणस्तर र वितरणमा विशेष ध्यान दिइएको छ । टिमुर, तेज पात, मलागिरी, कुरिलो, हर्रो, बर्रो, अमला, चिउरी, ओखर, काउलो र अश्वगन्धा जस्ता बहुमूल्य जडीबुटीहरू उत्पादन तथा वितरण गरिएको केन्द्रले जनाएको छ ।
“टिमुर, मलागिरीका बिरुवा विशेष गरेर व्यक्तिगत रूपमा किसानहरूले बढी लग्ने गर्नुहुन्छ, तेज पात, काउलोका बिरुवा सामुदायिक वनहरूमा लगाउने गरिएको छ”, अनुसन्धान केन्द्रका प्रमुख डाक्टर पाठकले भने, “सल्यानसहित दाङ, रोल्पा, रुकुम, जाजरकोट, दैलेख लगायतका जिल्लामा बिरुवा जाने गरेको छ ।”
औषधीय गुणयुक्त बिरुवाको खेतीबाट किसान तथा वन समूहहरूले मनग्य आम्दानी पनि गर्ने गरेका छन् । वनस्पति अनुसन्धान केन्द्रले जडीबुटी खेती प्रवर्द्धनका क्रियाकलापहरू सञ्चालन गर्न थालेको २५ वर्ष बढी भैसकेको छ ।
त्यसअघि जङ्गलबाट सङ्कलन गरेर एक दुई लाख रुपैयाँको मात्रै टिमुर लगायतका जडीबुटी बिक्री हुने गरेकोमा पछिल्लो समय करोडौँको जडीबुटी सल्यानबाट निकासी हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।
“एउटै वडाबाट तीन करोड रुपैयाँसम्मको जडीबुटी बिक्री भएको देखिन्छ । यसमा विशेष गरेर वनस्पति अनुसन्धान केन्द्रको महत्त्वपूर्ण योगदान छ”, पाठकले भने ।
आठ जिल्लामा क्रियाकलाप सञ्चालन:
अनुसन्धान केन्द्रको कार्यक्षेत्र तल्लो कर्णालीका पाँच जिल्ला तथा रोल्पा, दाङ र प्युठानसहित आठ जिल्ला हो । यहाँ पालैपालो कार्यक्रम सञ्चालन हुने गरेका छन् ।
जडीबुटी खेती प्रवर्द्धन, विद्यालय स्तरीय सचेतना, विषालु च्याउसम्बन्धी जागरण, जैविक विषादी प्रयोग र वनस्पति खोजीका कार्यहरू प्रमुख रूपमा सञ्चालन हुने गरेको केन्द्रले जनाएको छ ।
कम लगानीमा दिगो आम्दानी, रोग प्रतिरोधक क्षमता वृद्धि, माटो संरक्षण तथा जैविक विविधता जोगाउने औषधी गुणले भरिपूर्ण बिरुवाहरूले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन टेवा पुर्याइरहेका छन् ।
अनुसन्धान केन्द्रले कपुरकोट, ३ स्थित मुलपानी वनस्पति उद्यानका तीनवटा नर्सरी र कपुरकोट, ३ कै जम्पानी स्थित चारवटा नर्सरी तथा नर्सरी वाहिर एवं त्रिवेणी, ६ सल्लेखोला स्थित एउटा नर्सरी र नर्सरी वाहिर बिरुवा उत्पादन गर्दै आएको छ ।
दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षणमा जोड:
गत आर्थिक वर्षमा केन्द्रले ६–७ ठाउँमा जडीबुटी खेती तालिम तथा प्राविधिक सल्लाह कार्यक्रम सञ्चालन गरेको थियो । जसमा करिब २५० जनाले सहभागिता जनाएका थिए ।
यसै गरी सल्यान, रोल्पा र दाङका एक–एक विद्यालयमा पनि जडीबुटीसम्बन्धी सचेतना कार्यक्रम गरेर २५० विद्यार्थीलाई अभिमुखीकरण गरिएको थियो ।
दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षणमा केन्द्रले विशेष जोड दिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका, ६ मा ३० जनालाई छुट्टै गोष्ठी आयोजना गरियो । त्यस्तै कपुरकोट, ४ को धनवाङ–गाडापानीमा २० जनालाई रुख उन्यू संरक्षणका लागि सचेतना गोष्ठी सञ्चालन गरिएको थियो ।
छत्रेश्वरीका सामुदायिक वन समूहका सदस्यहरूलाई काँकडसिंगी, विभिन्न सुनाखरी, बन चाँप, टटेलो, सिप्लिकान र रुख उन्यू जस्ता दुर्लभ प्रजातिहरूको संरक्षणबारे विशेष प्रशिक्षण दिइएको केन्द्रले जनाएको छ ।
यस्ता कार्यक्रमले स्थानीय समुदायमा जडीबुटी संरक्षणको चेतना बढाउँदै जैविक विविधता जोगाउन मद्दत पुर्याउने उद्देश्य रहेको भन्दै केन्द्रका प्रमुख पाठकले आगामी वर्षहरूमा उत्पादन र वितरणलाई थप विस्तार गर्ने योजना रहेको जनाए ।
विभिन्न ठाउँमा जडीबुटी उत्पादन पकेट क्षेत्र बनाएर काम भइरहेको छ । विगतमा अनुसन्धान केन्द्रले जडीबुटी खेतीमा अनुदानका कार्यक्रम पनि सञ्चालन गरेको थियो ।