© २०२३
“असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय”, बृहदारण्यक उपनिषद् १.३.२८ र ’असत्यबाट सत्यतिर लैजाऊ, अन्धकारबाट प्रकाशतिर लैजाऊ र मृत्युबाट अमरतातिर लैजाऊ’, यो केवल प्रार्थना होइन मानवीय अस्तित्वको सबैभन्दा गहिरो चित्कार हो ।
यही सूत्रमा वेद र उपनिषद्को सम्पूर्ण दर्शन अटाएको छ । जीवनका प्रत्येक क्षणमा हामी नाशवान् कुरा सम्हाल्न व्यस्त छौंः शरीर, धन, प्रतिष्ठा र सम्बन्ध । तर उपनिषद् भन्छ– “यी सबै परिवर्तनशील हुन् तिमी होइन” ।
मृत्युबाट अमृत पुग्ने यात्रा शरीरको रक्षा होइन स्व चेतनाको जागरण हो, त्यो सत्य चिन्नु हो जसले मृत्युभन्दा पर लैजान्छ ।
आत्माको अमर स्वरूप: वेदान्तको मूल शिक्षा:–
वेद र उपनिषद्हरूले स्पष्ट रूपमा घोषणा गरेका छन् कि हामी केवल यो पञ्चमहाभूतले बनेको शरीर र क्षणिक मन मात्र होइनौँ । हाम्रो वास्तविक स्वरूप आत्मा हो, जसलाई ’ब्रह्म’ पनि भनिन्छ ।
यो आत्मा न जन्मिन्छ, न मर्छ, न यसलाई आगोले जलाउन सक्छ, न त पानीले भिजाउन सक्छ । (नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। –श्रीभगवद्गीता २ः२३)
कठोपनिषद्मा यमराजले नचिकेतालाई ब्रह्मज्ञान दिँदै भन्छन्, “यो आत्मा अजन्मा, नित्य, शाश्वत र अनादि छ । शरीरको विनास हुँदा पनि यसको विनास हुँदैन ।“ (कठ. १.२.१८)
भगवद्गीताले पनि यही भनाइलाई स्पष्ट गर्छ, जसरी पुराना वस्त्र त्यागेर नयाँ वस्त्र लगाइन्छ । त्यसरी नै आत्माले पुरानो शरीर त्यागेर नयाँ शरीर धारण गर्छ । (वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि । तथा शरीराणि विहाय जीर्णा– न्यन्यानि संयाति नवानि देही ।।
–श्रीभगवद्गीता २.२२)
अतः अमृतत्व भनेको मृत्युपछि पाइने कुनै स्वर्गीय तृप्ति होइन बरु जीवनमै अनुभूत हुने सत्य हो कि म शुद्ध, साक्षी र ब्रह्मस्वरूप छु ।
मृत्युको मूल कारण अज्ञानताः–
उपनिषद् भन्छ– “अविद्यायाम् मृत्युं तीत्र्वा विद्ययाम् अमृतम् अश्नुते” (ईशोपनिषद्, मंत्र ११) अर्थात्, अज्ञान पार गरेपछि मात्र अमृतत्व प्राप्त हुन्छ । मृत्यु डरको कारण शरीर होइन, आफ्नो सत्य स्वरूप नचिन्नु हो ।
हामी “म यो शरीर हुँ” भन्ने भ्रममा बाँधिएका छौं । यही अज्ञानले हामीलाई सुख–दुःख, आशा–भय र जन्म–मृत्युकै जालमा बाँधेको छ । त्यसैले, वेदले ज्ञान लाई नै मुक्ति मार्ग मानेका छन् ।
ज्ञानका तीन बाटोः–
१. कर्मयोग– निःस्वार्थ भावले कर्तव्य कर्म गर्नु, फलमा आसक्ति नदेखाउनु ।
२. भक्तियोग– आफ्नो अस्तित्व परमात्मामा समर्पण गर्नु ।
३. ज्ञानयोग – “नेति नेति” (यो होइन, यो होइन) भनी शरीर, मन, बुद्धि र अहंकारबाट आफूलाई अलग गर्दै अन्ततः “अहं ब्रह्मास्मि” म नै ब्रह्म हुँ भन्ने अनुभूति प्राप्त गर्नु ।
मृत्युलाई उत्सव बनाउने कलाः–
उपनिषद् सिकाउँछ “जो आत्मालाई चिन्छ, उसलाई मृत्यु छुँदैन”।
मृत्युबाट अमृतसम्मको यात्रा जीवनकै बीचमा सुरु हुन्छ । जब मानवले आफूलाई शरीर होइन, चेतनाको स्रोतका रूपमा चिन्छ, त्यो क्षण ऊ मृत्यु पार गर्छ । त्यसपछि, मृत्यु भय होइन एउटा रूपान्तरणमात्र हुन्छ । जसरी रात पछि बिहान आउँछ, त्यसरी नै जीवन पछि अर्को प्रकाश । ज्ञानले सम्पन्न व्यक्ति जीवनमा शान्त हुन्छ, मृत्युमा स्थिर हुन्छ ।
त्यो जीवनमुक्त हुन्छ, शरीर रहँदा पनि बन्धनमुक्त । उसका लागि मृत्यु कुनै अन्त्य होइन, आत्मा र ब्रह्मबीचको पुनर्मिलन हो ।
निष्कर्ष: मृत्युबाट अमृत पुग्नु भनेको मृत्यु जित्नु होइन, तर मृत्युमा पनि आफ्नो अमर स्वरूप देख्नु हो । वेद र उपनिषद्ले हामीलाई यही सिकाउँछन् । बाहिरको संसार परिवर्तनशील छ, तर भित्रको सत्य शाश्वत छ ।
जब मानवले यो सत्य अनुभव गर्छ त्यस क्षण ऊ अन्धकारबाट ज्योतिको यात्रा पूरा गर्छ र “मृत्योर्मा अमृतं गमय“ भन्ने मन्त्र केवल शब्द नभई आत्म बोधको दिव्य अनुभव बन्छ । अमृतत्व त प्राप्त गर्ने कुरा होइन, स्मरण गर्ने कुरा हो किनकि आत्मा त सधैँ अमर छ, मरेको त केवल अज्ञान हो ।