© २०२३
काठमाडौँ, २९ कार्तिक ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनका लागि ५ दिन म्याद थप गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली सङ्कलनको म्याद ५ दिन थप गरिएको हो ।
प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिएका थिए । मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा ५ दिन म्याद थप गरेको भण्डारीको भनाइ छ ।
यसअघि सरकारले ३० कार्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै ५ मङ्सिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।
यसैबिच प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीको अनलाइन आवेदन दिँदा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले शुक्रवार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरेर अनलाइनबाट नाम दर्ता गर्दा सर्भर अवरुद्ध भएर सेवा रोकिने समस्याको समाधान गर्न आग्रह गरेकी हुन् ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न अनलाइनबाटै आवेदन लिन थालेपछि चाप बढेको छ । कार्यालयहरूमा चाप बढेसँगै आयोगले राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूको हकमा अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने गरी अनलाइन पोर्टल सुरु गरेको छ ।
तर, अनलाइनमा आवेदनकर्ताको चाप बढेर सर्भर नै अवरुद्ध हुन थालेपछि सेवाग्राहीले सास्ती व्यहोर्नुपरिरहेको छ ।