© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती काठमाडौँ आइपुगेका छन्। सिंगापुरमा उपचार सकेर देउवा र आरजु राणा देउवा शुक्रबार राति काठमाडौँ आइपुगेका हुन्।
उनीहरू सिंगापुर विमानमार्फत कात्तिक १० गते सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए। आज पनि सिंगापुर विमानमार्फत नै फर्किएका हुन्।
उनीहरुलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महत, तरुण दलका नेतालगायत विमानस्थल पुगेका थिए।
आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो। त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरूले बताएका थिए।
पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर उँडेका थिए।
वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेका थियो। तर देउवा उपचारको लागि विदेश जाने भन्ने जानकारी पाएपछि उनका लागि उक्त व्यवस्था फुकुवा गरिएको थियो।
यता असोज २८ गतेदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक एक महिनासम्म जारी छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक अन्य सबैले आफ्नो धारणा राखिसके पनि निर्णयका लागि भने संस्थापन समूहले देउवालाई कुरिरहेका छन्।
पार्टीभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन के गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। महामन्त्री गगन थापाले नियमित महाधिवेशनको लागि अब सम्भव नभएको भन्दै मंसिर २७ गतेका लागि विशेष महाधिवेशनको मिति प्रस्ताव गरेका छन्।
अब देउवा आइसकेपछि कांग्रेस राजनीति थप रोचक हुने अनुमान छ।