© २०२३
२०६६ सालमा रुपन्देही जोगीकुटीको जनज्योति माविबाट एसएलसी उत्तीर्ण गरेपछि सपना आलेको कक्षा ११/१२ पढ्ने सपना तुरुन्तै पूरा हुने सकेन ।
उनको बिहे २०६७ मा पाल्पा, माथागढी–३, भैंसीकट्टाका पूर्णबहादुर आलेसँग भयो । बिहेपछि सन्तानको खेतीतिर लागिन् र जन्माइन् छोरी । नाम राखी दिइन् शीतल ।
अहिले खहरेको सनराईज बोर्डिङ्गमा कक्षा पाँचमा पढ्दै छिन् शीतल । सन्तानको रहर पूरा गरेपछि दिव्य ज्योति मावि माथागढी–३ सराईबाट सपनाले कक्षा १२ उत्तीर्ण गरिन् ।
श्रीमान् पूर्णबहादुर आले सहारा आधारभूत विद्यालयमा स्थायी शिक्षकका रूपमा कार्यरत छन् । श्रीमान् र छोरी स्कुल जान थालेपछि सपनाले हात खाली राखेर घरमा बस्न चाहिनन् ।
खाली रहेको आफ्नै पुख्र्याैली पाँच रोपनी जग्गामा कृषि कर्म गर्ने रुचि राखिन् । तर उनीसँग कोरा शिक्षा बाहेक केही थिएन । उनले गाउँमै कालिकादेवी कृषि समूह गठन गरेर ३१ जना दिदी बहिनीहरूलाई समाहित गरिन् ।
सामाजिक स्रोत विकास केन्द्र–नेपाल पाल्पाबाट कृषि सम्बन्धी तालिम दिलाइन् । आफूले पनि लिइन् तालिम । उनीहरूलाई उक्त संस्थाबाट आर्थिक र प्राविधिक सहयोग मिल्यो ।
उनी आफूले व्यक्तिगत रूपमा समेत २५ हजार अनुदान संस्थामार्फत लिएर मल्चिङ्ग प्लास्टिक, टनेल र थोपा सिँचाइका लागि पाइप खरिद गरिन् । कृषि ज्ञान केन्द्र पाल्पा, किसान परियोजना र स्थानीय एग्रोभेटले समेत उनको कृषि कर्ममा प्राविधिक सहयोग मिलेको रहेछ ।
तालिम प्राप्त गरेपछि र आफ्नो श्रम, सीप र समय खर्चिएर सपनाले बेमौसमी तरकारी खेती गरेकी छिन् । उनले काँक्रो, खुर्सानी, करेला, सेमी, उत्पादन गरेर गत वर्ष चार लाख आम्दानी गरिन् ।
गत वर्ष ७० क्विन्टल काँक्रा, १२ क्विन्टल जति सेमी, तीन क्विन्टल खुर्सानी र दुई क्विन्टल करेला बेचेकी थिइन् । पाल्पाको नयाँ पाटी, तानसेन नै उनीहरूको बजार रहेछ । सपनाले भन्दैथिईन– गाउँमा कृषि एम्बुलेन्स भएमा हामी किसानहरूलाई उत्तम हुने थियो ।
भनेको बेला कृषि उपज बजार पुराउन नसक्दा भाउ नपाइने र कहिलेकाहीँ कुहिएर जाने भएकाले पिरलो छ । यस वर्ष पनि गत वर्षको तुलनामा बढी आम्दानी गर्ने गरी कृषिमा मिहिनेत गर्दै छु ।
सपनाले असाध्यै मिहिनेत गर्छिन् । सिँचाइका लागि पानी पोखरी तयार पारेकी छिन् । केरा, सुन्तला, कागती, फलफूल र कफी समेत लगाएकी छिन् । एक क्षण पनि कुरा काटेर वा बेफुर्सदिलो भएर बस्ने रहर उनमा छैन ।
दुई वटा माउ बङ्गुर र दुई वटा पाडा समेत पालेकी छिन् । भविष्यमा कृषिकर्मीबाटै अघि बढ्दै प्रगति र उन्नति गर्ने सपना बुनेकी सपनाको इच्छा छिट्टै पूरा होस् !