© २०२३
मानव शरीरमा इन्सुलिन हर्मोनको उत्पादन रगतमा प्राप्त नहुनु वा इन्सुलिन प्राप्त हुँदा पनि काम गर्न छोड्नु जसले गर्दा शरीरमा भएको रगतमा चिनीको मात्रा अत्यधिक बढेर जानु वा रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी हुने अवस्थालाई मधुमेह, डायबिटिज वा चिनी रोग भनिन्छ ।
रगतमा चिनीको मात्रा खाली पेटमा १०० भन्दा तल र खाना खाएपछि १४० भन्दा माथि हुनुपर्दछ ।
यदि भोको पेटमा वा खाली पेटमा जाँच गर्दा सुगर लेभल १२६ भन्दामाथि भयो भने र खाना खाएको दुई घण्टापछि सुगर लेभल जाँच गर्दा २०० भन्दा माथि भएमा उक्त अवस्थालाई डायबिटिज, मधुमेह वा चिनिरोग भनिन्छ ।
कारण वा प्रकारहरू:
१. टाइप वान डायबिटिज:
प्याङक्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिजलाई टाइप वान डायबिटिज भनिन्छ ।यो बिशेषगरी बालबालिकाहरूमा देखिन्छ । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो । यो बिशेषगरी वंशाणुगत र वातावरणीय कारणबाट हुने गर्दछ ।
२. टाइप टु डायबिटिज: प्याङक्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ ।
शरीरमा आवश्यक सुगरको सही सन्तुलन नहुँदा हुने गर्दछ । यसको मुख्य कारण मोटोपना हो । अर्को कारण तनाव, स्ट्रेस, उच्च रक्त चाप भएका कोलेस्ट्रोल बढी हुँदा वंशाणुगत कारण खानपान र लाइफस्टाईल जिन र विभिन्न कारणले शरीरमा भएको इन्सुलिनले काम नगरेमा टाइप टु डायबिटिज हुन्छ ।
लक्षण तथा चिन्हहरू:
धेरै तिर्खा लाग्ने, मुख सुख्खा हुने, मानिस दुब्लाउँदै, जाने तौल घट्ने, कमजोरी महसुस हुनु वा आलस्य हुने, चिडचिडाहटपन हुने, थकावट महसुस हुने, यौन दुर्बलता हुने, धेरै पटक पिसाब लाग्ने, (पोलियुरीया), धेरै भोक लाग्ने (पोलिफेइजिया), खुट्टामा घाउ हुने, काटेको घाउहरू ढिलो निको हुने, आँखा धमिलो देख्ने, दृष्टिमा समस्या हुने, टाउको दुख्ने, छाला चिलाउने, कतिपय पेटको समस्या लिएर आएकाहरूमा पनि परीक्षण गर्दा सुगर देखिन सक्छ ।कसैको आँखाको ज्योति गुमेको हुन्छ र परीक्षण गर्दा सुगर देखिन्छ । कतिपयलाई ह्रद घात र प्यारालाइसिस भएपछि बल्ल जाँच गर्दा सुगर भएको थाहा हुन सक्दछ ।
मधुमेह भएका व्यक्तिलाई इम्युनोकम्प्रमाईज अर्थात् रोग सँगै लड्ने क्षमता हुँदैन कमजोरी हुँदै जान्छ । मधुमेहका विशेष लक्षण नभए पनि अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउँदिन सक्दछ ।
जटिलताहरू:
सबै प्रकारका मधुमेहले लामो अवधिको जटिलता हुने गर्दछ ।साधरणतया यस्ता जटिलताहरू धेरै वर्षपछि (१०–२० वर्ष) विकसित हुने गर्छन् तर रोग लागेर पनि समयमै पहिचान हुन नसके रोगीमा जटिलता नै पहिलो लक्षणको रूपमा देखा पर्दछ ।
यसमा पछिसम्म हुने जटिलता रक्तनलिहरूको क्षतिसँग सम्बन्धित हुन्छ । मधुमेहले मुटु तथा रक्त नलिका रोगहरू लाग्ने जोखिमतालाई दुई गुणा बढाउँछ । यो रोगबाट हुने ७५ प्रतिशत मृत्यु कोरोनरी आर्टरी डिजिजका कारणले हुन्छ ।
रोकथामका उपाय:
मधुमेह लागिसकेपछि उपचारबाट निर्मूल पार्न सम्भव छैन ।त्यसैले रोगीको आयु बढाउने वा रोगको व्यवस्थापन गर्ने विकल्प बाँकी रहन्छ । मधुमेह रोगको व्यवस्थापन भनेकै रगतमा भएको चिनीको मात्रा घटाउनु हो । रक्त कोषको क्षति पुराउने अन्य तत्त्वको निवारण गर्नु हो ।
जसको लागी निम्न उपाय अपनाउन सकिन्छ । जस्तै सन्तुलित र नियमित भोजन लिने, बढी चिल्लो युक्त खाद्य पदार्थको सेवन नगर्ने, धूम्रपान र मद्यपान नगर्ने र यसबाट टाढा रहने, खानामा कार्बोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने, रक्तचाप नियन्त्रण गर्ने, तौल घटाउने, मोटोपन घटाउने, चिनीयुक्त गुलिया खाद्य पदार्थ वा पेय पदार्थको सेवन नगर्ने, नियमित व्यायाम गर्ने ।
दिनमा आधा घण्टाका दरले कम्तीमा पनि हप्तामा पाँच दिन अनिवार्य हिँड्ने । पिर चिन्ता, तनाव, स्ट्रेस कहिले नलिने, नियमित स्वास्थ्य जाँच गराउने, स्वास्थ्यकर्मीसँग प्रत्यक्ष सम्पर्कमा रहने, इन्सुलिनको मात्रा यथावत् राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पताल जाने डाक्टर वा विशेषज्ञलाई भेटेर औषधी लिने, आवश्यकता अनुसार थप उपचार गर्ने र खोपमार्फत नियमित इन्सुलिन लिने ।
बिरामी आफै सचेत भई ‘म जोगाउँछु मेरो स्वास्थ्य’ भन्ने भनाइलाई व्यवहारमा लागू गर्ने ।