© २०२३
काठमाडौं, २८ कात्तिक ।
राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावली दर्ता प्रक्रिया सुरु गरिए पनि अनलाइन प्रणालीमा समस्या आएको छ ।
बिहीबारदेखि राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न थालिएको हो । तर एकैपटक धेरै सेवाग्राहीले आवेदन गर्दछ भनेपछि सिस्टममा समस्या देखिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सेवाग्राहीको अत्यधिक चापका कारण सिस्टम ह्याङ भएको जानकारी दिए । ‘सेवाग्राही धेरै भएका कारण सिस्टम ह्याङ भएको छ । आईटी विज्ञको टोलीले काम गरिरहेको छ,’ उनले भने ।
उनका अनुसार अहिले राष्ट्रिय परिचयपत्र विभागका प्राविधिक र आयोगको आईटी टोली समस्या समाधानमा जुटिरहेका छन् । ‘विज्ञको टोली खटिएको छ । सेवाग्राही धेरै भएकाले सिस्टमले थेग्न सकेन र सुस्त (स्लो) भएको हो,’ भट्टराईले थपे ।
अनलाइनमार्फत नाम दर्ता गर्दै आएका सेवाग्राहीले पनि समस्या भोगिरहेको बताएका छन् । उनीहरूले लामो समयसम्म प्रयास गर्दा पनि आवेदन स्वीकृत नहुने, पृष्ठ खुलेर नआउने तथा प्रणाली बारम्बार रोकिने जस्ता गुनासो गरेका छन् ।