© २०२३
बुटवल, २८ कात्तिक ।
नेपाल बैंक लिमिटेडको ८९औँ वार्षिकोत्सवको अवसरमा बैंकको लुम्बिनी प्रदेश कार्यालय र नेपाल नियमित रक्तदाता संघ तिलोत्तमा शाखाले शुक्रबार संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४५ जना स्वयंसेवी रक्तदाताले सहभागिता जनाका छन् । रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धता झल्किएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयका प्रमुख अर्जुनबहादुर कंडेलले बैंक आर्थिक सेवा मात्र होइन, समाजसेवामुखी अभियानमा पनि सक्रिय रहेको उल्लेख गरे । “बैंकको ८९ वर्षीय यात्रामा आम सर्वसाधारणको विश्वासले ठूलो स्थान ओगटेको छ । यस्तो विश्वासलाई सामाजिक योगदानमार्फत अझ मजबुत बनाउन हामी निरन्तर अग्रसर छौँ,” उनले भने ।

सिटी अफिस खस्यौली शाखाका शाखा प्रबन्धक यज्ञमूर्ति बस्यालले नियमित र सुरक्षित रक्तदान समाजको जीवनरक्षक अभियान भएकाले बैंकले यस्ता क्रियाकलापलाई वर्सेनि निरन्तरता दिने बताए । “रक्तदान मानवताका लागि सबैभन्दा पवित्र योगदान हो । आजको कार्यक्रममा देखिएको उत्साहले हामीलाई अझै प्रेरित गरेको छ,” उनले उल्लेख गरे ।
रक्तदान गर्ने सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता रचनात्मक काममार्फत नेपाल बैंक लिमिटेडले संस्थागत छवि सुदृढ गर्दै आएको आयोजकहरूले बताए ।