© २०२३
लुम्बिनी, २८ कात्तिक ।
लुम्बिनी क्षेत्रमा पर्यटक बसाइ लम्ब्याउने र होटल व्यवसायमा सेवा गुणस्तर वृद्धि गर्ने उद्देश्यले “होटल अतिथि सत्कार तालिम” सम्पन्न भएको छ। पाँच दिने यस तालिमको आयोजना लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा भएको थियो भने यु.एन.डी.पी. र पर्यटन परिषदको सहयोग रहेको थियो।
तालिममा लुम्बिनी र वरपरका होटल, रेस्टुरेन्ट तथा ट्राभल व्यवसायमा संलग्न ३० जना सहभागीले ग्राहक सेवा, आतिथ्य शिष्टाचार, स्वच्छता, संवाद कौशल र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाह सम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गरे ।
कार्यक्रमको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक मेयर कल्पना हरिजनले गरेकी थिइन् । उनले होटल व्यवसायलाई पर्यटन प्रवद्र्धनको मुख्य आधार भन्दै सेवाग्राहीप्रति आत्मीयता, मुस्कान र व्यावसायिकता देखाउन आवश्यक रहेकोमा जोड दिइन् ।
तालिमका प्रशिक्षक लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले स्थानीय तहको पर्यटन क्षेत्रमा भूमिका र जिम्मेवारीबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइन् । उनले पर्यटन पूर्वाधार विकास, सरसफाइ, आतिथ्य सत्कार प्रवद्र्धन र जनचेतना अभिवृद्धिमा स्थानीय तहले महत्वपूर्ण योगदान गर्न सक्ने बताइन् ।
यसैगरी डा. हरिध्वज राईले लुम्बिनीको पर्यटनको हालको अवस्था, समस्या र सुधारका उपायबारे प्रशिक्षण दिनुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक दयानिधि गौतमले बुद्ध शिक्षामा पेशा, व्यवसाय र अतिथि सत्कारको सम्बन्धमा जानकारी दिए । सञ्जय शाक्य, वसन्त विडारी, डा. कुलप्रसाद खनाल र डा. श्री प्रसाद भट्टराईले पनि विभिन्न विषयमा प्रशिक्षण प्रदान गरे ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन मणिक रत्न शाक्य, निरु गौतमलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । तालिममा सहभागीहरूलाई व्यावहारिक अभ्यासमार्फत ग्राहक सन्तुष्टि, प्रभावकारी संचार र होटल व्यवस्थापनका विविध पक्षसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । लुम्बिनी होटल संघका पदाधिकारीहरूले यस्ता तालिमले स्थानीय युवा र व्यवसायीमा दक्षता अभिवृद्धि गरी पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।