Butwal Today

गुल्मीमा कहिलेसम्म रहला जहाज उडान ?

२८ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

गुल्मी, २८ कार्तिक ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ ।

नेपाल वायु सेवा निगम रेसुङ्गा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रूपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिएका छन् ।

नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबार मात्र हवाई उडान हुँदै आएको थियो ।

तर अहिले बिग्रिएको ट्विनअटर जहाजको मर्मतसंभार पश्चात् पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको स्टेसन प्रमुख थापाले बताएका छन् । नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरेर सातामा चार पटक उडान गर्ने भएको हो ।

गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७:३० बजे हवाई उडान गर्दै आएको छ ।

निगमले काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०० रूपैंया र गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३०० भाडा दर निर्धारण गरेको छ ।

रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक मात्रमा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नु परेको निगमले जनाएको छ ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै पछिल्लो समयमा जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा समेत बृद्धि हुँदै गएको  रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताएका छन् ।

हवाई सेवा सुरु भएपछि यस क्षेत्रका नागरिकहरूले आकाश मार्गबाट ४५ मिनेटमै सहज रूपमा जिल्लादेखि राजधानीसम्म आवतजावत गर्न सहज पुगेको छ ।

जिल्लामा हवाई सेवा लिने नागरिकहरूको चाप शुरु देखिनै अत्यधिक रहेको छ । तर प्रतिकुल मौसमका कारण बेलाबेलामा हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन् ।

नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रूपमा हवाई उडान गर्दै आइरहेको छ ।