© २०२३
बुटवल, २८ कात्तिक ।
विश्व मधुमेह दिवस २०२५ को अवसरमा शुक्रबार रुपन्देहीमा सचेतनामुलक साईकल र्याली निकालिएको छ ।
केन डाईबेटिज एण्ड थाईरोइड सेन्टरको आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लबको सहयोगमा वृहत सचेतनामुलक र्याली तथा कार्यक्रम गरिएको हो ।
तिलोत्तमा नगरपालिकास्थित केन सेन्टरबाट सुरु भएको र्याली वनबाटिका, योगीकुटी, भाटभटेनी, गोलपार्क, कालिकापथ, ड्राइभरटोल हुदै पुनः सेन्टरमा समापन गरिएको थियो ।
कार्यक्रममा केन डाईबेटिज एण्ड थाईरोइड सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले आफुहरु सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा मधुमेह नियन्त्रण, स्वस्थ जीवनशैली र रोगको रोकथामबारे परामर्श सेवा विभिन्न समय तालिका बनाएर दिदै आएको बताए ।
मानिसहरुमा रोग लाग्नुको कारण आधुनिक जीवनशैली र खानपिन भएको उनले बताए । स्थानीय संघसंस्थाहरुको सहकार्यमा निःशुल्क मधुमेह र मिर्गौला स्वास्थ्य जाँचका साथै रोकथामबारे परामर्श दिने काम भइरहेको उनले बताए ।
नेपालमा करिब ८० हजार मृगौलाका बिरामी रहेको तथ्यांक छ भने विशेषज्ञ चिकित्सक भने ८० जना मात्रै छन् । जसमा उच्चरक्तचाप र मधुमेहबाट धेरै बिरामी हुनेगर्छ। एकातिर जनशक्ति अभाव, अर्कोतर्फ मधुमेहका बिरामीको संख्या तीव्र रूपमा बढ्दै जाँदा उपचार सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको मृगौला रोग विशेषज्ञ डा रजत कायस्थको भनाई छ ।
‘अब नया बिरामी थपिनबाट रोक्नतर्फ लाग्नुपर्छ’–उनले भने । नसर्ने तर प्राणघातक रोगका रुपमा मधुमेह बन्दै गएको हुदा पनि प्रत्येक ब्यक्ति कम्तीमा ६ महिनामा एक पटक शारीरिक परीक्षण गर्न जरुरी हुने उनको सुझाव छ ।
मधुमेहका बिरामीमा अत्यधिक तिर्खा, बारम्बार पिसाब, थकान, दृष्टि धमिलो हुनु र घाउ ढिलो निको हुने जस्ता लक्षणहरु देखापर्छ । सन्तुलित आहार, नियमित योग र व्यायाम अपनाएमा यस्तो रोग नियन्त्रणमा राख्न सकिन्छ । नेपाल सरकारले समेत प्रत्येक नागरिकलाई निशुल्क परिक्षणका लागि बजेट छुट्याएको भएपनि त्यो सहि ढंगबाट प्रयोग भएको देखिदैन । दक्ष जनशक्ति अभाव र बिरामीको चाप बढी हुदा दैनिक हजारौ मृगौलाका बिरामीहरु अस्पतालमा डायलासिसको पालो कुरेर बस्छन ।