© २०२३
काठमाडौँ, २८ कात्तिक ।
सभामुखबाट पदमुक्त गरिएका मधेश प्रदेशका सांसदहरूले प्रदेश सभा बैठकमा आफ्नो उपस्थितिको प्रमाणित नक्कल उपलब्ध गराइदिन प्रदेश सचिवालयमा निवेदन दिएका छन् ।
प्रदेश सभाको बैठकमा विगत एक वर्षदेखिको उपस्थितिसम्बन्धी सम्पूर्ण हाजिरी र कागजात उपलब्ध गराइदिन भन्दै कारबाहीमा परेका सांसद सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) ले शुक्रबार निवेदन दिएका हुन् ।
सभामुख रामचन्द्र मण्डलले आफूमाथि प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई बिहीबार कारबाही गरेका थिए ।
लगातार १० पटक प्रदेश सभा बैठकमा अनुपस्थित भएको आधारमा सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेको जनाएका थिए ।
पदमुक्त गरिएका सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, नागरिक उन्मुक्तिका सञ्जयकुमार यादव, जसपाका मनिषकुमार सुमन (सप्तरी), सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार रहेका छन् ।
सभामुख मण्डलले कारबाही गरेको सूचना सार्वजनिक भएपछि उपसभामुख बबिताकुमारी राउत ईशरले प्रतिवाद गर्दै उक्त कारबाही बदर भएको सूचना जारी गरेकी थिइन् ।