© 2026
काठमान्डौ, २७ कार्तिक ।
काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा खडा संरचना आज काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
उक्त संरचना पूर्वमन्त्री दीपक खड्काको कम्पनी, खड्का ल्याण्डले भोगचलन गर्दै आएको थियो । खड्का ल्याण्डले स्काउटबाट भाडामा लिएको तीन रोपनी जग्गाको सट्टा झन्डै १२ रोपनी जग्गा अतिक्रमण गरी पार्टी प्यालेस, रेस्टुराँ र कार्यालय सञ्चालन गर्दै आएको थियो । अदालतको आदेश र स्काउटको पटक–पटक सूचना बाबजुद समेत सम्झौता बमोजिमको भाडा नतिरेपछि आज विहान उक्त संरचनामा डोजर चलाइएको हो ।
नेपाल स्काउट र खड्का ल्याण्डबीचको भाडासम्बन्धी सम्झौता २०७५ सालमै समाप्त भइसकेको थियो, तर खड्काले व्यवसाय सञ्चालनमा अटेर गर्दै आएका थिए । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटले जग्गामा बनाइएका संरचनाको भद्र बक्यौता तिर्न सात दिने अल्टिमेटम जारी गरेको थियो ।
अल्टिमेटम सकिएसँगै महानगर प्रहरी डोजर लिएर पुगेको थियो । स्काउटले २०६५ सालमा भाडामा दिएको तीन रोपनी जग्गामा खड्का ल्याण्डले ‘लैनचौर ब्याङ्क्वेट’ खोलेको थियो भने त्यहाँ ‘माई च्वाइस’ रेस्टुरेन्टको संरचना समेत निर्माण गरिएको थियो ।